aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अनलाइनका नाममा जनतालाई सास्ती

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, २४ माघ २०७६
अनलाइनका नाममा जनतालाई सास्ती

काठमाडौ । सरकारको सेवाप्रवाह सेवा छिटोछरितो र सर्वसुलभ साथै प्रविधिमैत्री बनाउने उद्देश्यले ल्याइएको डिजिटल अनलाइन प्रविधिले सेवाग्राहीलाई झनै सास्ती भएको छ ।

यातायात व्यवस्था कार्यालय गण्डकीमा सेवा लिन पुग्ने सेवाग्राहीले कहिले सर्भर नचल्दा त कहिले अनलाइन नखुल्दा हैरानी बेहोर्नु परेको छ ।

पोखरा महानगरपालिका–१७, बिरौटाका नवीन हमाल मङ्गलबार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को काम लिएर कार्यालयको सवारीचालक अनुमतिपत्र शाखामा गए । सर्भर नचलेका कारण सो दिन उनी त्यसै फर्किए ।

त्यसको दुई दिनपछि बिहीबार बिहान ९ बजे पुनः कार्यालय पुगेका उनले लाममा दुई घण्टा पालो कुरे । पछि सर्भर नचलेको भन्दै कर्मचारीले उनलाई फर्काइदिए ।

हमाल मात्र हैन, लाइसेन्सको काम लिएर कार्यालय आउने धेरै सेवाग्राहीले सर्भरका कारण यस्तै सास्ती भोग्ने गरेका छन् । प्रायः दैनिकजसो सर्भरले काम नगर्दा लाइसेन्सको काम लिएर आउने सेवाग्राहीको काम नहुँदा पनि समाधानको लागि केही पहल भएको छैन ।

कार्यालयका निमित्त प्रमुख हरिप्रसाद गौतम कर्मचारीले सेवाग्राहीको काम छिटोछरितो गर्न चाहे पनि सर्भरका कारण समस्या हुने गरेको बताउछन् । केन्द्रीय प्रणाली अर्थात् यातायात विभागमार्फत कार्यालयको सर्भरले काम गर्ने हुँदा समस्या परेको उनको भनाइ छ । सर्भर जुनसुकै बेला पनि डाउन हुने गरेको र त्यसको समाधान कर्मचारीको हातमा नरहेकाले समस्या परेको हो ।

पटक पटक कार्यालय पुगेका सेवाग्राही सर्भर नचल्दा हैरान छन् भने अनलाइन सेवाका लागि प्रवेश गर्ने सेवाग्राहीले जतिसुकै प्रयास गर्दा पनि एक्सेस नपाएको गुनासो छ । यातायात गण्डकी कार्यालयले दैनिक सानो ठूलो सवारी गरी झन्डै चार सयवटा फर्म अनलाइनमार्फत लिने गर्छ ।

अनलाइनको साइटमा सीमित व्यक्तिको बाहेक पहुँच नै पुग्दैन, कतिखेर पुग्छ, कतिखेर बन्द हुन्छ थाहा नै हुँदैन । चौबीसै घण्टा प्रयास गर्दा पनि बिचौलियाकै सहयोग लिनुपर्ने बाध्यता छ । एउटा फर्म भर्दा कति पैसा लाग्छ, यातायात कार्यालयले तोकेको छैन । तर, एक हजारदेखि पाँच हजार रुपियाँसम्म असुल्ने गरेको सेवाग्राही प्रवेश गुरुङले बताए ।

यसबारेमा कार्यालय प्रमुख गौतम ह्याकरहरूले नै कब्जा गरेको स्वीकार गर्छन् । उनी थप्छन्, ‘त्यो हाम्रो क्षमताभन्दा बाहिरको हो । त्यो विभागले हेर्नुपर्छ । सेवाग्राहीको खप्की हामीले खान्छौँ । सेवाग्राही देख्दा हामी पनि खिन्न हुन्छौँ ।’ कार्यालयबाट वार्षिक एक लाखभन्दा बढी सेवाग्राहीले नयाँ लाइसेन्स बनाउने र पुरानाको नवीकरण गर्छन् । तर कार्यालयको संरचना भने उस्तै छ ।

कार्यालयका सूचना अधिकारी भरतराज काफ्ले भौतिक संरचनाको लेआउट नमिलेका कारण पनि काममा समस्या परेको बताउँछन् । कार्यालय अब छिटै नयाँ भवनमा सर्न लागेको र त्यसपछि काममा केही सहज हुने भनाइ उनको छ ।

चालक अनुमतिपत्रका लागि आवेदन फर्म छोटो समयका लागि खुल्ने र ह्याक गर्न सक्नेले मात्र सेवा लिनसक्ने र अरूले नसक्ने गरेका कारणसमेत समस्या भएको काफ्लेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस