खोटाङ । तेजबहादुर विष्टको दाहिने खुट्टाको कम्मरमुनिको भाग छैन । वैशाखीको सहाराबिना उन िहिँडडुल गर्न सक्छन्् । शारीरिकरूपमा अपाङ्ग भएपनि उन्ले गिट्टी कुटेर चार जनाको परिवार पाल्दै आएका छन् ।
जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३१ वर्षीय उनले विगत सात वर्षदेखि गिट्टी कुटेर आफ्नो परिवारको जीविकोपार्जन चलाउँदै आएका छन् । विसं २०६९ मा ट्र्याक्टर दुर्घटना हुँदा उनले दाहिने खुट्टा गुमाएका थिए । परिवारमा २५ वर्षीया श्रीमती सरिता, १४ वर्षीय छोरा कपिल र अर्का ११ वर्षीय छोरा विमल रहेका छन् । कपिल कक्षा ७ र विमल कक्षा ४ मा अध्ययनरत छन् ।
उनलाई पछिल्लो समय दैनिक गुजारा चलाउन धौ धौ परेको छ । खेतीपातीबाहेक आम्दानीको स्रोत नभएका विष्ट परिवार अहिले आर्थिक गर्जो टार्न बुनीबुतो र ज्यालादारीको काम गर्दै आएका छन् । युवावस्थामै अपाङ्ग बनेका उनी अहिले गाउँपालिकाको लगानीमा निर्माणाधीन सशस्त्र प्रहरी बलको सुरक्षा बेसक्याम्पको कार्यालय भवनमा आवश्यक गिट्टी कुट्छन् ।
निर्माणस्थल तथा बाहिर हिँडडुल गर्न वैशाखीको सहारा लिनुपर्ने उनी दिनभर गिट्टी कुटेर दैनिक रु ४५० सम्म कमाउँछन् । “एउटा खुट्टा नभएकाले उठेर काम गर्न मिल्दैन”, आफ्नो छेउमा वैशाखी तेस्र्याएर गिट्टी कुटिरहेका उनले भने, “उपभोक्ता समितिले खाना र ढुङ्गा दिएर प्रतिटिन कुट्दा रु ३० दिन्छ । १० देखि १५ टिनसम्म गिट्टी तयार गर्दा रु ४५० सम्म कमाइ हुन्छ । यो पैसाले दुई छोराको पढाइका लागि आवश्यक कापी, कलम र पोशाक खरीद गर्दै आएको छु ।”
हिँडडुल गर्न नसक्ने तेजबहादुरलाई उनको नजिकै ढुङ्गा थुपारीदिने गरिएको स्थानीयवासी एवं सशस्त्र प्रहरी बलको सुरक्षा बेसक्याम्प निर्माण उपभोक्ता समितिका अध्यक्ष उमेश कार्कीले बताए । “तेजबहादुर गिट्टी कुट्नेबाहेक अन्य काम गर्न सक्नुहुन्न”, उनले भने, “आफूले जिम्मा लिएको हरेक निर्माणको काममा अरुलाई नदिइकन उहाँलाई नै गिट्टी कुट्ने कामको जिम्मा दिने गरेको छु ।”
गाउँमा हुने विकास निर्माणका कामबाहेक अन्य समयमा समेत गिट्टी नै कुटेर बस्नुहुने तेजबहादुरले तयार पारेको गिट्टी गाउँमै निर्माण गरिने घर तथा कार्यालयमा खपत हुने गरेको पाइएको छ । क्षतिपूर्तिवापत पाएको रकमले खरीद गरेको बारीसमेत खनजोत गर्न नमिलेपछि बाँझै रहेको विष्ट परिवारले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस