aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

विवादास्पद 'धर्मगुरु' भनिने रामबहादुर बमजन फरार, प्रहरीद्वारा मुख्य शिष्य 'पक्राउ'

  • बीबीसी
    बीबीसी
  • शुक्रबार, २४ माघ २०७६
विवादास्पद 'धर्मगुरु' भनिने रामबहादुर बमजन फरार, प्रहरीद्वारा मुख्य शिष्य 'पक्राउ'

काठमाडाैं । बलात्कार र हत्यासहित विभिन्न अपराध गरेको आरोप लागेका रामबहादुर बमजनलाई खोज्न गएको प्रहरीले सिन्धुलीस्थित आश्रमबाट उनीनिकटस्थ एक शिष्यलाई नियन्त्रणमा लिएको एक अनुयायीले बताएका छन् ।

बमजनसम्बद्ध बोधी धर्म श्रवण सङ्घका केन्द्रीय सदस्य छत्र घिसिङका अनुसार बमजनका शिष्यहरूले 'महामार्ग गुरु' भन्ने गरेका ज्ञानबहादुर बमजन (झ्याम्पा तोप्चेन) लाई प्रहरीले पक्राउ लिएको हो ।

बिहानै आश्रम पुगेको नेपाल प्रहरीको एउटा टोलीले सोधपुछपछि उनलाई गिरफ्तार गरेको हो। घिसिङका अनुसार प्रहरीहरू नौवटा गाडीमा आएका थिए ।

तर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी नायब उपरीक्षक श्याम खत्रीले कसैलाई पनि पक्राउ नगरिएको बीबीसीलाई बताए ।

आश्रममा प्रहरी आएको थाहा पाएपछि आफूहरू गएको तर प्रहरीले प्रवेश गर्न नदिएको घिसिङको भनाइ छ ।

केही प्रहरीहरू अहिले पनि आश्रममै छन् ।

आश्रममा छैनन् बमजन
बमजनलाई उनका शिष्यहरू 'महासम्बोधी धर्मसङ्घ गुरु' भनेर सम्बोधन गर्छन् । बमजनमाथि हत्या, यौन हिंसा र मानिसहरू बेपत्ता पारेको समेत विभिन्न आरोपहरू लाग्दै आएका छन् ।

त्यसबारे थप जानकारी केही बेरमा दिने सिन्धुलीकी प्रहरी प्रमुख रञ्जु सिग्देलले बताइन् । तर बमजनका अनुयायीहरूले त्यो आरोप अस्वीकार गर्दै आएका छन् ।

आश्रमबाहिर रहेका घिसिङका अनुसार बमजन भने आश्रममा छैनन् । उनी 'महाध्यान' मा रहेको उनको भनाइ छ ।

उनले भने, "भौतिक, सांसारिक रूपमा देखिने आवासमा उहाँ हुनुहुन्न । जङ्गलतिर कता हुनुहुन्छ ।"

यसअघि सिन्धुलीकी प्रहरी उपरीक्षक सिग्देलले बमजनलाई खोज्न प्रहरी गएको जानकारी दिएकी थिइन् ।

व्यक्ति बेपत्ता तथा हत्या गरेको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरो (सीआईबी)ले समेत बम्जनविरुद्ध अनुसन्धान गरिरहेको छ ।

सीआईबीसहित प्रहरीको टोलीले गत वर्षको पुसमा समेत बम्जनको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको बाडेगाउँस्थित आश्रममा छापा मारेको थियो । सीआईबीको टोलीले त्यतिबेला केही महत्वपूर्ण प्रमाण फेला पारेको बताएको थियो ।

उनलाई पक्राउन गर्न सिन्धुली जिल्ला अदालतबाट बिहीबारै अनुमति लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।  

बमजनमाथि आश्रमबाटै आनी र अनुयायीहरु वेपत्ता पारेको आरोप लागेको छ ।

सर्लाहीकी रिता वोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फूलमाया रूम्बा, सुरेश आलेमगर र सञ्चमान वाइवा बेपत्ता रहेको स्थानीयको भनाइ छ । व्यक्ति वेपत्ताको सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

त्यस्तै बमजनले आनी गंगामाया तामाङलाई बलत्कार गरेको आरोप छ । गंगामायाले डेढवर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूलाई बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस