
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज शुक्रबारको संसद बैठक पनि अवरुद्ध गर्ने भएको छ । शुक्रबार बिहान संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको सो पार्टीको बैठकले संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गदै प्रमुख सचेतक बालकृष्ण खाँडले भने ‘आज बसेको संसदीय दलको बैठकले संसद बैठक अवरोध गर्ने निर्णय गरेको छ ।'
काँग्रेसले राजनीतिक पूर्वाग्रहसहित बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले बिहीबारको संसद बैठक पनि अवरुद्ध गरेको थियो ।
अख्तियारले गच्छदारसहित १७५ जनाविरुद्ध वालुवाटरस्थित ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतमा बुधबार मुद्दा दर्ता गरेको थियो ।
त्यसपछि काँग्रेसले बिहीबार पत्रकार सम्मेलन गरेर राजनीतिक पूर्वाग्रहकै आधारमा गच्छदारमाथि मुद्दा दायर गरेको भन्दै आपत्ति जनाएको थियो ।
अख्तियारको उक्त कदमविरुद्ध काँग्रेसले आफ्ना भ्रातृ सङ्गठनलाई सडकमा उतार्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस