
काठमाडौं । सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले नेपाल ट्रष्टको जग्गा आफ्नो दाइजो दाबी गर्दै दायर गरेको रिट खारेज हुने फैसला गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित ५ जनाको संवैधानिक इजलाशले यस्तो फैसला सुनाएको हो । फैसलासँगै छाउनीमा रहेको जग्गा नेपाल ट्रष्टकै हुने भएको छ ।
प्रेरणा शाहले उक्त जग्गा आफूले दाइजो पाएको दाबी गर्दै रिट दायर गरेकी थिइन् । प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा, प्रकासमानसिंह राउतको संवैधानिक इजलासले प्रेरणा शाहको जग्गा सम्बन्धी रिट खारेज गर्दै ट्रस्टका नाममा ल्याउन बाटो खोलेको हो ।
अन्तरिम संविधान आउनुअघि २०५८ मा आफ्नो नाममा दाइजो आएकाले छाउनीको जग्गा आफ्नै हुने दाबी गर्दै उनले रिट हालेको थिइन ।
नेपाल ट्रष्टका नाममा रहेको १५ रोपनी जग्गा फिर्ता गर्न सरकारले काटेको पत्रविरुद्ध सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय काठमाडौं समेतलाई विपक्षी बनाई रिट दायर रिट गरेकी थिइन् ।
२०७५ पुस ६ गते मुद्दाको पुनरवलोकन माग गर्दै दायर रिटमाथि माघ २६ गते पेसी तोकिएको थियो। तर हेर्न नभ्याइने भएपछि सरेको मुद्दाको सुनुवाइ आजलाई तोकिएको थियो।
यसअघि सरकारले सिंह बस्दै आएको घरजग्गा खाली गर्न ३५ दिनको अल्टिमेटमसहितको पत्र काटेको थियो । सर्वोच्च अदालतको पूर्ण इजलासको फैसलाअनुसार नेपाल ट्रष्टको कार्यालयले सिंहलाई घरजग्गा खाली गराउन पत्र काटेको थियो ।
सर्वोच्चले तत्कालीन राजा ज्ञानेन्द्र शाहले राष्ट्रिय सम्पत्ति आफ्नी छोरीलाई दाइजो दिएको ठहर गरेको थियो। सर्वोच्चले आफ्नो हक नलाग्ने ‘विजया घर’ नेपाल ट्रस्टमै राख्न फैसला गरेको थियो ।
सिंहले नेपाल ट्रष्टको स्वामीत्व रहेको छाउनीस्थित नक्सा नम्बर ११०३–१२, कित्ता नम्बर २५ क्षेत्रफल ७ हजार ६ सय ६४ दशमलव ४० वर्ग मिटरको १५ रोपनी जग्गा उपयोग गर्दै आएकी छिन् ।
सर्वोच्च अदालतकी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले २०७३ पुस २१ गते गरेको फैसलामा सिंहले उपयोग गरिरहेको राष्ट्रिय सम्पत्ति फिर्ता गराउन सरकारलाई भनिएको थियाे ।
प्रतिक्रिया दिनुहोस