aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पाम आयलमा लागेको प्रतिबन्ध खुल्यो, सोमवारदेखि निर्यात हुने

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, २६ माघ २०७६
पाम आयलमा लागेको प्रतिबन्ध खुल्यो, सोमवारदेखि निर्यात हुने

काठमाडौं । भारतले आफ्ना आयातकर्तालाई नेपालबाट प्रशोधित पाम आयल आयात गर्न अनुमति दिएसँगै १ महीनादेखि रोकिएको भारततर्फको पाम आयल निर्यात सुचारु हुने भएको छ । भारतको वैदेशिक व्यापार निर्देशनालयले भारतीय आयातकर्तालाई नेपालबाट पाम आयल ल्याउन अनुमति दिएको हो । यससँगै १ महीनादेखि रोकिएको प्रशोधित पाम आयलको भारत निकासी खुलेको छ ।

भारतका आधा दर्जन व्यवसायीले आयातको अनुमति लिइसकेको वीरगञ्जको अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिका सञ्चालक प्रभुदयाल अग्रवालले बताए । आयात अनुमति लिए पनि नेपालबाट अहिलेसम्म निकासी भने शुरू भएको छैन । सीमावर्ती भारतीय रक्सौल भन्सारमा प्रक्रियागत कागजात पुर्‍याउन नसकिएकाले निकासी नभएको अग्रवालले बताए । सोमवारदेखि निर्यातको तयारी भएको एक उद्योगीले जानकारी दिए । 

विराटनगरस्थित श्रीराम रिफाइनका सञ्चालक प्रदीप मुरारकाले पाम आयल लिएर भन्सार पुगेका गाडीहरू सोमवारदेखि छुट्ने सम्भावना रहेको बताए । ‘भारतले नेपालबाट पाम आयल आयात गर्न केही कम्पनीहरूलाई अनुमति दिइसकेको छ,’ उनले भने । 

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडले भारतबाट पाम आयल आयातमा लगाइएको प्रतिबन्ध हटाइएको जानकारी आएको बताए । ‘हामी भारत सरकारसँग निरन्तर सम्पर्कमा थियौं । त्यस क्रममा त्यहाँका सरकारी अधिकारीहरूले यस्तो जानकारी दिएका हुन्,’ उनले भने, ‘नेपालबाट पाम आयल आयात गर्न केही व्यवसायीलाई अनुमति दिएको पनि जानकारी प्राप्त भएको छ ।’

भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निकासी खुलाउन भारतसँग पहल थालेको थियो । राज्यमन्त्री दुगडले उक्त प्रतिबन्ध खुलाउन ठूलै मेहनत गर्नुपरेको बताए । ‘त्यसैको फलस्वरूप भारतले नेपालका लागि प्रतिबन्ध खुलाएको छ,’ उनले भने, ‘सम्भवतः अब पाम आयलको निर्यातमा कुनै नीतिगत समस्या हुँदैन, नेपाली व्यवसायीले शून्य भन्सारदरमा नै पाम आयल निर्यात गर्न सक्छन् ।’

भारत सरकारले नेपालबाट प्रशोधित पाम आयल आयात गर्न आधा दर्जन कम्पनीलाई अनुमति दिइसकेको र थप कम्पनीहरूलाई पनि अनुमति दिने तयारी रहेको बताइएको छ । 

अहिलेसम्म भारतीय व्यवसायीले नेपालबाट ४० हजार मेट्रिकटन प्रशोधित पाम आयल आयात गर्ने अनुमति लिइसकेको बताइएको छ । अरू परिमाणको आयात अनुमति लिन नेपाली उद्योगीले आआफ्नो सम्पर्कमार्फत भारतीय व्यवसायीलाई जानकारी गराइसकेको बताइएको छ । 

भारतले पुुस २३ गते एक सूचनामार्फत प्रशोधित पाम आयलको आयातमा प्रतिबन्ध लगाएको थियो । यसबाट भारतीय बजारलाई लक्षित गरी उत्पादन बढाएका नेपालका उद्योग प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस