aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

रुकुम पूर्वमा पुनः हिमपात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ माघ २०७६
रुकुम पूर्वमा पुनः हिमपात

रुकुम । रुकुम पूर्वका उच्च हिमाली तथा लेकाली क्षेत्रमा शनिबार पुनः हिमपात भएको छ । हिमपातसँगै कम हुँदै गएको चिसो फेरि बढेपछि जनजीवन प्रभावित हुन पुगेको छ । हिमाली क्षेत्रमा पहिले परेको हिउँ बिलाउन नपाउँदै पुनः हिउँ थपिएको हो । 

जिल्लाको माथिल्लो क्षेत्र पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, भूमे र सिस्ने गाउँपालिकाका माथिल्लो अधिकांश क्षेत्रमा हिमपात भएको छ । यसपटकको हिमपातसँगै जिल्लामा यस वर्षको मङ्सिर अन्तिम सातादेखि अहिलेसम्म १०–१२ पटकभन्दा बढी हिउँ परिसकेको छ । पटक–पटकको हिमपातको कारण जिल्लावासीको दैनिकी कष्टकर हुने गरेको छ । 

पुथाउत्तरगङ्गा गाउँपालिकाकोे भने सबै ठाउँमा हिमपात भएपछि दैनिक कामकाजमा समस्या भएको स्थानीयवासीले बताएका छन् । गाउँपालिकामै हिउँ परेपछि गाउँपालिकासम्म पुग्ने सेवाग्राही र काम गर्ने कर्मचारी तथा जनप्रतिनिधिलाई समस्या भइरहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताए । हिमपातका कारण सेवाग्राही गाउँपालिकाको कार्यालयसम्म पुग्न नसक्ने भएपछि कर्मचारीलाई नै टोलटोलमा पठाएर दोस्रो चौमासिकको योजना सम्झौताको काम गरिहरहेको पनि उहाँले जानकारी दिए । हिमपात र चिसोकै कारण गाउँपालिकामा सेवा लिन आउनेको सङ्ख्या पनि न्यून रहेको उनको भनाइ छ ।

हिमपातकै कारण मङ्सिरको अन्तिम सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग पनि अझै सञ्चालन हुनसकेको छैन । हरेक वर्षको यसै समयमा हिमपात र चिसोका कारण जिल्लावासीले सास्ती खेप्ने गर्दछन् । कृषि र पशुपालन नै यहाँका मानिसको आम्दानीको मुख्य स्रोत हो ।

 हिमपात र चिसोकै कारण भेडाबाख्राका बथानसहित बेँसी झरेका किसानका भेडा पनि मरेका छन् । जसले गर्दा जिल्लावासीलाई झनै समस्या भएको छ । एक हप्ता अगाडि मात्र भूमे गाउँपालिकाको लुकुमबाट चिसो छल्नका लागि दाङ झरेका साढे दुई सय भेडा मरेका छन् ।

प्रतिक्रिया दिनुहोस