aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पोखरामा कोरोनाको असर ? सुनसान छन् पर्यटकीय गन्तव्य

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, २७ माघ २०७६
पोखरामा कोरोनाको असर ?  सुनसान छन् पर्यटकीय गन्तव्य

कास्की । चीनको वुहान शहरबाट फैलिएको नोबल कोरोना भाइरसको असर पोखराको पर्यटनमा देखिएको छ । चिनियाँ पर्यटकले भरिभराउ हुने यस सिजनमा पोखराको लेकसाइड अहिले सुनसान छ । चिनियाँहरूको नयाँ वर्षको पूर्वसन्ध्यामा कोरोना भाइरसको संक्रमण बढेपछि चिनियाँ पर्यटकको आवागमन ठप्प भएको हो । चिनियाँ विमान कम्पनीले नेपाल उडान स्थगित गर्दा पोखरा घुम्नेहरूको संख्या एकदमै घटेको छ ।

यस सिजनमा पोखरामा ४० देखि ५० प्रतिशत पर्यटकको आगमन हुने गथ्र्यो । त्यसमध्ये पनि २५ प्रतिशतभन्दा बढी चिनियाँ पर्यटक हुने गर्दथे । तर, अहिले पर्यटक नै न्यून रहेको अवस्था छ । ‘कोरोनाको महामारीले सबैजसो बुकिङ रद्द भएका छन्,’ पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए । 

चिनियाँ पर्यटक घट्दा होटलको अकुपेन्सी दरसमेत घटेको छ । ‘अघिल्ला वर्ष यस सिजनमा ४० प्रतिशत अकुपेन्सी हुने गरेकोमा अहिले १५ देखि २० प्रतिशत हाराहारी मात्र छ,’ तुलाचनले बताए । अहिले चिनियाँ मात्र होइन, अन्य देशका पर्यटकले पनि धमाधम बुकिङ रद्द गरेका छन् । हालका दिनहरूमा पोखरामा चिनियाँ मात्र होइन, अन्य विदेशी पर्यटकसमेत देख्न मुश्किल भएको पर्यटन व्यवसायीको भनाइ छ । 

पोखरा घुम्न आएकामध्ये अधिकांश पर्यटक बसाइ छोट्याएर फर्किसकेका छन् । नेपाल टूर्स एन्ड ट्राभल्स एशोसिएशन (नाट्टा), पोखराका उपाध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा घुम्न आउने ८० प्रतिशत पुगेको अकुपेन्सी घटेर ३० प्रतिशत हाराहारीमा झरेको बताए । 

कोरोना भाइरसलाई ध्यानमा राखेर पोखरा विमानस्थलबाट भित्रिने पर्यटकको चेकजाँचका लागि विमानस्थलमै हेल्थडेस्क स्थापना गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा महानगरपालिकाको सहकार्यमा सो डेस्क स्थापना गरिएको हो । 

नेपाल आउने चिनियाँ पर्यटकको प्रमुख गन्तव्य पोखरा भएकाले पर्यटकलाई लक्षित गरी विमानस्थलमा स्वास्थ्य परीक्षण गर्न आवश्यक उपकरणसहित दुईजना स्वास्थ्यकर्मी खटाइएको छ । 

स्वास्थ्यकर्मीले रुघाखोकी, ज्वरो र अन्य संक्रमणको लक्षण देखिएका बिरामीको सामान्य परीक्षण गरी रगतको नमूनासमेत लिनेछन् । कोरोना भाइरसको शंका लागेमा यही डेस्कले उपचारका लागि ‘रेफर’ गर्ने प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले जानकारी दिए । ‘हेल्थडेस्कमा रगत परीक्षण गर्दा कोरोना भाइरसको शंका लागेमा रगतको नमूनासहित बिरामीलाई काठमाडौं पठाइन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस