aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आफ्नै वकिलले किन गरे अम्बानी टाट पल्टिएको दाबी ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ माघ २०७६
आफ्नै वकिलले किन गरे अम्बानी टाट पल्टिएको दाबी  ?

एक समय संसारको शीर्ष धनीको सूचीमा जमेका अनिल अंबानी अब आर्थिक रुपमा टाट पल्टिएका छन् । अनिल अंबानीका वकिलहरूले लन्डन अदालतमा यो दावी गरेका हुन्। वास्तवमा, लन्डन अदालतमा चीनका शीर्ष बैंकहरूले एक आवेदन फाइल गरेका थिए । सो निवेदनको सुनुवाइको क्रममा अनिल अंबानीका वकिलहरूले यस्तो खुलासा गरेको खबर भारतीय संचार माध्यममा छन् ।

के हो कुरा ?

इन्डस्ट्रियल एण्ड कमर्शियल बैंक अफ चाइना लिमिटेड, चाइना डेभलपमेन्ट बैंक र एक्जिम बैंक अफ चाइनाले अम्बानीको बिरूद्ध पैसा जम्मा गर्ने आदेश जारी गर्न बेलायती अदालतमा अपील गरे। यी बैंकहरूले भनेका छन् कि अनिल अंबानीले पुरानो ऋण चुक्ता गर्नका लागि फेब्रुअरी २०१२ मा करीव ९२.५ करोड डलरको व्यक्तिगत ग्यारेन्टी बसेकोमा सो पैसा फिर्ता पाएको छैन। यस अवस्थामा चीनका शीर्ष बैंकहरूले अनिल अंबानीबाट ६८ करोड पुन: प्राप्तिको माग गरेका छन्।

मुद्दाको सुनुवाइका क्रममा न्यायाधीश डेभिड व्याक्सम्यानले अनिल अंबानीलाई लन्डनको अदालतमा १० करोड डलर जम्मा गर्न आग्रह गरेका छन्। यसका लागि अदालतले अनिल अंबानीलाई ६  हप्ताको समय दिएको छ। वकिलको दाबीलाई नकार्दै न्यायाधिसले भनेका छन् उनी यो विश्वास गर्न सक्दैनन् कि अनिल अंबानीको कुल सम्पत्ति लगभग शून्य छ वा उनको परिवारले उनलाई संकटको स्थितिमा सहयोग गर्दैन।

यस्तो छ अंबानीका वकिलहरूको दाबी

अनिल अंबानीका वकिलहरूले अदालतको सुनुवाइको बेला भने, "२०१२ पछि अम्बानीको कुल सम्पत्ति लगातार घट्दै छ। भारत सरकारको स्पेक्ट्रम दिने नीतिमा आएको परिवर्तनका कारण भारतीय दूरसंचार क्षेत्र नाटकीय रूपमा परिवर्तन भएको छ।” अनिल अंबानीका वकिल रोबर्ट होले अदालतलाई भने, “२०१२ मा अम्बानीको लगानी सात अर्ब डलर भन्दा बढी थियो। आज यो घटेर ८.९  मिलियन डलर छ। यदि तिनीहरूको दायित्व थपियो भने, यो शून्यमा खस्नेछ।”

अनिल अंबानीको जीवनशैलीमा प्रश्न

यद्यपि बैंकका वकिलहरूले अम्बानीको विलासी जीवनशैलीमाथि प्रश्न उठाए र उनीहरूको दाबीमाथि प्रश्न गरे कि अम्बानीले दक्षिण मुम्बईमा ११ वा सो भन्दा बढी लक्जरी कार, एउटा निजी जेट, याट र एउटा विशेष समुद्री पाथहाउस रहेको छ । न्यायाधीश डेभिड व्याक्सम्यानले त्यसपछि प्रश्न गरे, "अनिल अंबानी आफू व्यक्तिगत रूपमा टाट पल्टिएको भनेर जिद्दी गर्दैछन। के तिनीहरूले भारतमा आफु टाट पल्टिएको कुरा कतै दायर गरेका छन्?”  भारतका कहलिएका अधिवक्ता हरीश साल्वे, जो अम्बानीका वकिलहरूको टोलीका सदस्य थिए उनले सो प्रश्नको  नकारात्मक जवाफ दिए।

यसै बीच रिलायन्स समूहले अदालतको निर्णयको बिरूद्ध अपील गर्ने संकेत दिएको छ । अनिल अंबानीका प्रवक्ताले भने, "अंबानीले बेलायती अदालतको आदेशको समीक्षा गरिरहेका छन् र अपीलको सम्बन्धमा कानूनी सल्लाह भईरहेको छ। "

प्रतिक्रिया दिनुहोस