aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

करोडको लोभ देखाएर किशोरी बेच्न खोज्ने २ जना प्रहरीको फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ माघ २०७६
करोडको लोभ देखाएर किशोरी बेच्न खोज्ने २ जना प्रहरीको फन्दामा

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ वर्षीय भीमबहादुर ढकाल र सोही ठाउँका ३९ वर्षीय रामबाबु दुतराजलाई किशोरीलाई बेचबिखन गर्न खोजेको आरोपमा पक्राउ गरेको छ ।

गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए अनुसार यही माघ २४ गते ललाइफकाइ किशोरीलाई बिक्रीका लागि लगेको र बालिकाले शङ्का लागि भागेर घर फर्किएपछि घटना सार्वजनिक भएको हो । पक्राउ परेकाहरुले एक किशोरीलाई भिडियोमा खेल्न राम्रो कमाइ हुन्छ भनेर २३ गते भिडियो समेत खिचेर २४ गते चितवनतर्फ लागेको खतिवडाले बताए । 

उनले भने, ‘पछि उनी आफैँ भागी घर फर्किएर आमालाई घटनाबारे जानकारी गराएपछि सबै थाहा भयो ।’ उनले अगाडी थपे , ‘कक्षा ९ मा अध्ययनरत बालिकालाई तिम्रो उचाइ पनि रहेछ, हत्केला पनि राम्रो छ, चितवन गयौ भने भाग्य चम्किन्छ, १ करोड पाउँछौ भनेर लगेको पाइयो।'

पीडित किशोरीकी आामाले आफन्तसँगको सल्लाहमा ढकाल र दुतराजविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिए  । घटनामा संलग्न दुवैलाई पक्राउ गरी जिल्ला अदालतबाट सात दिनेको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अभियुक्तलाई गाउँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध बेचबिखन तथा मानव ओसारपसार कसुरअन्तर्गत प्रहरीले अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस