aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

अझै सम्पन्न भएन ‘सर्भिस ट्र्याक’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ माघ २०७६
अझै सम्पन्न भएन ‘सर्भिस ट्र्याक’

काठमाडौं । कोटेश्वर–कलङ्की सडक खण्डमा हालसम्म ‘सर्भिस ट्र्याक’ निर्माण सम्पन्न हुन सकेको छैन । सो खण्ड विस्तार कार्य सम्पन्न भएको लामो समय वितिसक्दा पनि  ट्र्याकले गति लिन नसकेको हो । 

चीन सरकारले मुख्य र सहायक गरी आठ लेन सडक निर्माण गरिदिएको थियो ।  नेपाल सरकारले सडकको दुबैतर्फ एक–एक लेन निर्माण गर्ने गरी सम्झौता भएको थियो ।  सो खण्डको मर्मत दुई वर्ष पहिले शुरु भएपनि अझैसम्म सम्पन्न हुन नसकेको बताइएको छ  । कतिपय स्थानमा जग्गा कारण मार्ग निर्माण हुन नसकेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । 

कोटेश्वर, एकान्तकुना, बल्खुलगायतका विभिन्न स्थानमा सो समस्या रहेको योजना प्रमुख अमृतमणि रिमालले जानकारी दिए । कोटेश्वर सूर्यकोट मार्गबाट बालकुमारी पुलसम्म तीन वटा घर सडकको अधिकार क्षेत्रमा रहेका कारण मार्ग निर्माण अघि बढ्न सकिरहेको छैन ।

त्यस्तै, एकान्त कुनामा रहेको तिब्बती शरणार्थी क्याम्प पनि सडकको अधिकार क्षेत्रमा परेको छ । उनले भने,“यी संरचना हटाउन नसक्दासम्म हामीले चाहेर पनि सडक निर्माण गर्न सकिँदैन ।”सडकको लम्बाइ झण्डै १० किमी रहेको छ । चीन सरकारको सहयोगमा विसं २०७२ मा सो सडकको निर्माण शुरु भइ गतवर्ष सरकारलाई हस्तान्तरण गरिएको थियो । 

नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको सो सडकमा पर्ने  तीन आकाशे पुल चीन सरकारले नै निर्माण गरिदिएको थियो । खसी बजारदेखि कलङ्कीसम्मको ‘अण्डर पास’ नेपालको पहिलो हो । चीन सरकारकै सहयोगमा कलङ्कीबाट धोबीखोलासम्मको सडक पनि आठ लेनमै विस्तार हुने जनाइएको छ ।  सो सडक खण्डमा पनि ‘सर्भिस ट्र्याक’ निर्माण गर्ने सहमति भएको सडक विभागले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस