
काठमाडौं । समाजवादी पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग आग्रह गरेको छ ।
प्रतिनिधिसभाको विषेश समयमा बोल्दै समाजवादी पार्टीकी सचेतक सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दा राजनीतिक प्रतिसोधपूर्ण रहेको भन्दै महाअभियोग लगाउनसक्ने व्यवस्थाको प्रयोग गर्न कांग्रेसलाई सुझाव दिइन् ।
तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की र तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाइएको स्मरण गर्दै गिरीले प्रतिपक्षी दलका रुपमा वर्तमान अख्तियार नेतृत्वमाथि महाअभियोगको प्रस्ताव ल्याउन आग्रह गरिन् ।
न्यायाधीश कुमार रेग्मी र नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनलाई जग्गा फिर्ता गर्ने शर्तमा मुद्दा नचलाइएको प्रति उनले आपत्ति जनाइन् । उनीहरुले जग्गा फिर्ता गर्नुको अर्थ अपराध स्वीकार गरेको रुपमा बुझ्नुपर्ने उनकाे भनाइ छ।
उनले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद अवरुद्ध गर्नुको सट्टा महाअभियोग लगाउनेतर्फ सोच्नुपर्ने समेत बताइन्। संसद अवरुद्ध पार्नु गलत रहेको बताउँदै उनले विकल्प नखोजेको प्रति आपत्ति जनाइन्। ‘प्रतिपक्ष दल नेपाली कांग्रेसले राजनीतिक लेनदेनका लागि संसद अवरुद्ध गर्यो । जुन सही भएन । अवरोध हटाउने तरिका पनि ठिक भएन,’ उनको आरोप छ । यसरी अवरोध गर्दा संसदप्रति विश्वास घटिरहेको उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस