aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कालापानीमा काम गर्न पाउँदैनन् नेपाली मजदुर

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, २९ माघ २०७६
कालापानीमा काम गर्न पाउँदैनन् नेपाली मजदुर

दार्चुला । नेपाली भूमि कालापानी क्षेत्रमा आफूहरूले मजदुरी गर्न नपाएको दार्चुलाका स्थानीयले बताएका छन् । वर्षौंदेखि भारतीय सुरक्षाकर्मीको भारी बोक्नेलगायतका काम गर्दै आएका नेपालीले सीमा विवादको मुद्दा चर्किएपछि काम गर्न नदिएको गुनासो गरेका हुन् ।

नेपाल र भारतबीच विवादित भूमि कालापानीमा भारत सरकारले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । गतवर्षसम्म सयौँ नेपाली मजदुरले कालापानी क्षेत्रका विभिन्न गाउँमा गएर मजदुरी गर्ने गरेको भए पनि यो वर्ष सीमा विवादको मुद्दा चर्किएपछि भारतीय सुरक्षाकर्मीले नेपालीलाई गालीगलौज गर्ने गरेको व्यास गाउँपालिकाका स्थानीय जनक भट्टले बताए । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो राजनीतिक नक्सामा राखेपछि सबै नेपालीले विरोध गरिरहेका छन् ।

व्यास गाउँपालिका ४, सुन्सेराका स्थानीय नारद भट्टले भने, “नेपाल सरकारले सीमा क्षेत्रमा राज्यको बलियो उपस्थिति र सीमासम्म सडक निर्माण गर्न नसकेकै कारण नेपाली भूमि कालापानीमा भारतीय सुरक्षाकर्मीले एकलौटी गरेका छन् ।” सन् १९६२ मा भारत र चीनबीच युद्ध हुँदा भारतले कालापानीमा अस्थाई क्याम्प बनाएको जानकारहरू बताउँछन् । युद्ध सकिएको करिब ६ दशक बित्न लाग्दा पनि भारतले प्रयोग गरेको भूमि नेपाललाई छोड्नुको साटो सैनिक थप्दै लगेको स्थानीय उमेशदत्त भट्टले बताए ।

कालापानीमा भारत सरकारले आईटीबीपी, एसएसबी र आर्मी गरी झन्डै चार सय सुरक्षाकर्मी तैनाथ गरेको छ तर नेपाल सरकारले दार्चुला सदरमुकाम खलङ्गामा सशस्त्र प्रहरी र नेपाली सेना राखेर सीमा क्षेत्र सुरक्षाविहीन छोडेको छ । सीमामा सशस्त्र प्रहरीको उपस्थिति गराउने निर्णय गरे पनि कार्यान्वयनमा ढिलाइ भइरहेको स्थानीयको गुनासो छ । कालापानीभन्दा निकै तल टिङ्कर र सीतापुलमा सानै सङ्ख्यामा भए पनि छ महिना नेपाल प्रहरीको उपस्थिति हुन्छ तर मङ्सिरदेखि चिसो बढ्ने भएकोले स्थानीयसंँगै प्रहरीसमेत व्यास गाउँपालिका २, दुम्लिङ झरेको छ । मङ्सिरदेखि वैशाखसम्म सीमा क्षेत्रमा राज्यको उपस्थिति नहुँदा भारतले नेपालको ठूलो भूभागमा कब्जा जमाएको छ ।

विगतमा यहाँका नाबी, कुटी, गुञ्जीलगायत गाउँका स्थानीयले नेपाल सरकारलाई कर तिरेको प्रमाण भूमिसुधार तथा व्यवस्थापन विभागसँग सुरक्षित भए पनि पछिल्लो समय उक्त क्षेत्रमा भारतको दबदबा बढेको छ ।

छिमेकी भारतले धारचुला तहसिलअन्तर्गत पर्ने उत्तरी क्षेत्र घट्टेबगडदेखि अतिक्रमित भूमि कालापानीसम्म सात ठाउँमा १८ वटा भारतीय सुरक्षाकर्मीका युनिट तैनाथ गरेको छ । 

प्रतिक्रिया दिनुहोस