aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

लगानीकोषले दर्ता गर्‍यो स्टक डिलर कम्पनी

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • विहीबार, ०१ फागुन २०७६
लगानीकोषले दर्ता गर्‍यो स्टक डिलर कम्पनी

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले शेयर किनबेच गर्ने उद्देश्यसहित छुट्टै स्टक डिलर कम्पनी स्थापना गरेको छ । सीआईटीको ५१ प्रतिशत शेयर स्वामित्व हुने गरी नागरिक स्टक डिलर कम्पनी बुधवार कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरिएको छ । यससँगै सीईआइटीलाई औपचारिक रूपमै स्टक डिलरको काम गर्ने बाटो खुला भएको छ । 

सीआईटीको सहायक कम्पनीका रूपमा स्थापना गरिएको उक्त कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब र अधिकृत पूँजी १० अर्ब हुनेछ । त्यसमा सीआईटीले रू. २ अर्ब ५५ करोड लगानी गर्नेछ । उक्त कम्पनीमा नेपाल टेलिकमको ९ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत शेयर स्वामित्व हुने सीईआटीको भनाइ छ । 

सीआईटीका अनुसार नेपाल टेलिकमले रू. ४५ करोड र नेपाल पुनर्बीमा कम्पनीले रू. ५० करोड शेयर लगानी गरेका छन् । बाँकी रहेको ३० प्रतिशत शेयर भने सर्वसाधारण अर्थात् आईपीओमार्पmत जुटाइने सीआईटीको भनाइ छ । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर रू. १ अर्ब ५५ करोड बराबरको आईपीओ जारी गर्ने देखिन्छ ।  

नेपाल धितोपत्र बोर्डले यसै साता ‘धितोपत्र व्यवसायी (दलाल, व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४’ संशोधन गर्दै वाणिज्य बैंक, सीआईटी, सञ्चयकोष जस्ता विशेष ऐनद्वारा स्थापित कम्पनीलाई स्टक डिलरको काम गर्न बाटो खुला गरिदिएको थियो । त्यसपछि सीईआटीले स्टक डिलरको काम गर्न यो कम्पनी स्थापना गरेको हो । सीआईटीले स्टक डिलर कम्पनी स्थापना गर्न पहिलेदेखि नै लबिङ गर्दै आएको थियो ।

सेबोनद्वारा संशोधित नियमावलीमा ‘क’ वर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तीमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमति लिएर धितोपत्र दलाल वा व्यापारीको काम गर्न सक्ने उल्लेख छ । अब उक्त कम्पनीले स्टक डिलरको काम गर्न धितोपत्र बोर्डबाट स्वीकृति लिनपर्ने छ, त्यसपछि मात्रा कम्पनीले स्टक डिलरको काम गर्न पाउनेछ । 

स्टक डिलर कम्पनीले शेयरबजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्ने, विक्री नभएको शेयर किन्ने जस्ता काम गर्नेछ । स्टक डिलर कम्पनी  खोलिएपछि शेयरबजारमा स्थायित्व आउने लगानीकर्ताको अपेक्षा छ ।

कम्पनीको सञ्चालक समिति गठन भएपछि थप कार्य अगाडि बढाइने सीआईटीको भनाइ छ । कम्पनीको सञ्चालक समितिमा सीआईटीबाट ३, नेपाल टेलिकमबाट १ र नेपाल पुनर्बीमा कम्पनीबाट १ गरी जम्मा पाँच जनाले प्रतिनिधित्व गर्नेछन् । त्यसमा एकजना विज्ञ सदस्य थप गरेर ६ जनाको सञ्चालक समिति गठन गरिने बताइएको छ । तर, सर्वसाधारण शेयर थपिएपछि सीईआटीको एक प्रतिनिधि हटाई सर्वसाधारणबाट २ जना थप गरी ७ जनाको सञ्चालक समिति गठन गरिने सीर्आटीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस