aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सिमेन्टको खपत बढाउन सडक विभाग र उत्पादक संघको यस्तो कदम

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • विहीबार, ०१ फागुन २०७६
सिमेन्टको खपत बढाउन सडक विभाग र उत्पादक संघको यस्तो कदम

काठमाडौं । मुलुक सिमेन्ट र क्लिंकर उत्पादनमा आत्मनिर्भर भएपछि उपभोग बढाउन वैकल्पिक उपायको खोजी गर्न थालिएको छ । सिमेन्ट तथा क्लिंकरको उपभोग वृद्धि र गुणस्तरीय सडक बनाउन ढलान सडक (सिमेन्ट कंक्रिट पेभमेन्ट–सीसीपी) निर्माण आवश्यक देखिएकोमा नियामक निकाय र सिमेन्ट उत्पादकबीच एकमत देखिएको छ । 

ढलान अर्थात् कंक्रिट सडक बनाउने विषयमा पहिलो पटक सडक विभाग र नेपाल सिमेन्ट उत्पादक संघले संयुक्त रूपमा बुधवार आयोजना गरेको ‘सडकका लागि सिमेन्ट/कंक्रिट : दिगो अवधारणा’ विषयक कार्यक्रममा यो विषयमा दुवैपक्ष एकमत देखिएका हुन् । नेपालमा हाल बिटुमिनको प्रयोग गरेर सडकहरू बन्दै आएको छ । तर यो प्रविधि टिकाउ र गुणस्तर पनि कम हुने बताइएको छ । अब राजमार्ग तथा प्रदेश÷स्थानीय सडक बनाउ“दा ढलान सडक बनाउन सकिने सरोकारवालाले बताएका छन् । 

बिटुमिनको प्रयोगबाट बन्ने सडकभन्दा ढलान सडक महँगो पर्छ । त्यसो हुँदा ढलान सडकका लागि बजेट तथा स्रोतका साथै इच्छाशक्ति पनि आवश्यक हुने सरोकारवालाले बताएका छन् । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संघीय संरचनापछि सबैभन्दा बढी सडक निर्माणको काम स्थानीय तहले गरेको हुँदा ग्रामीण सडकहरू गुणस्तरीय बनाउन यो प्रविधि अपनाउन सकिने बताए ।

‘कंक्रिट सडक तुलनात्मक रूपमा बढी महँगो देखिन्छ,’ उनले भने, ‘महंगो भए पनि यस्ता सडकहरू बनाउन आवश्यक देखिएकाले मूल्य कम गर्न सक्ने विषयमा गृहकार्य पनि गर्नुपर्छ ।’ सिमेन्ट उत्पादकहरूले पनि यसको गुणस्तर कायम राख्दै उत्पादन गर्नुपर्ने र लागत घटाउन बिजुलीको महशुल दर पनि घटाउन आवश्यक देखिएको नेम्वाङको भनाइ छ । 

यसैगरी कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले सिमेन्ट उद्योगको संरक्षण र खपत बढाउन राज्यले चासो दिने बताए । उनले मुलुकभित्रका कुन–कुन सडकमा यो प्रविधि अपनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न पनि सुझाव दिए । सरकारले निर्यातलाई प्राथमिकता दिएको भन्दै उनले भने, ‘सिमेन्ट निर्यातका विषयमा निकट भविष्यमै नेपाल–भारतबीच हुने वाणिज्य वार्तामा छलफल गर्ने तयारी गरेका छौं ।’

यसैगरी कार्यक्रममा सडक विभागमा महानिर्देशक केशवकुमार शर्माले ढलान सडक बनाउन सकिन्छ भन्ने विषयमा विभागले गृहकार्य गरिरहेको जानकारी दिए । वार्षिक रूपमा नेपालले सडकको मर्मतसम्भारका लागि खर्च गर्ने बजेट र बिटुमिनबाट हुने खर्चका विषयमा मूल्यांकन गरेर ढलान सडक बनाउने विषयमा अब अघि बढ्न आवश्यक भइसकेको उनको भनाइ छ । 

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संघका अध्यक्ष ध्रुव थापाले उत्पादन क्षमताअनुसार सिमेन्टको खपत नहुँदा आत्मनिर्भर भइरहेको यो उद्योग समस्यामा परेको बताए । उनले सिमेन्ट तथा क्लिंकरको उपभोग बनाउन वैकल्पिक उपाय कंक्रिट सडक निर्माण नै भएको भन्दै सरकारले यस्ता खालका सडक बनाउन प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले भने, ‘सिमेन्ट र क्लिंकरको खपत बढाउन सरकार र निर्माण व्यवसायीले साथ दिनुपर्छ ।’ 

कार्यक्रममा संघीय सडक सुपरिवेक्षण कार्यालयका प्रमुख राजेन्द्रराज शर्मा र सडक विभागका इन्जिनियरले ढलान सडकको प्रयोग, आवश्यकता, खर्चका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै शर्माले बिटुमिनको प्रयोगभन्दा ढलान सडक ५० वर्षभन्दा बढी टिकाउ हुने बताए । उनले अहिले केही साना शहरभित्रका सडकमा ढलान सडक बनिसकेको भन्दै महेन्द्र राजमार्ग वा अन्य राजमार्गबाट यो प्रविधि प्रयोगमा ल्याउन सकिने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस