aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

सप्तकोसी नदीमा सञ्चालित जेटबोट बन्द

  • रिता राउत
    रिता राउत
  • विहीबार, ०१ फागुन २०७६
सप्तकोसी नदीमा सञ्चालित जेटबोट बन्द

उदयपुर । सप्तकोशी नदीमा विगत दुई वर्षदेखि संचालित जेट बोट सेवा विहीबारबाट बन्द भएको छ । सरकारले कानून निर्माण गरी नियमन गर्नुपर्ने, सुरक्षा प्रदान गर्नुपर्ने, भाडादर कायम गर्नुपर्नेलगायतका माग राख्दै व्यवसायीहरुले अनिश्चितकालका लागि सेवा बन्द गरेका हुन् ।

पछिल्लो समय जेटबोटकै कारण पर्यटकीय गन्तव्य बन्दै गएको चतरास्थित सप्तकोसी नदीमा सुरक्षा र कानुन नभएको भन्दै सञ्चालकहरुले अनिश्चितकालका लागि बन्द गराएका हुन्।

जेटबोट सञ्चालक राजेन्द्र कार्कीले स्थानीय तहदेखि प्रहरी प्रशासनले समेत दुःख दिने गरेकाले सरकारलाई छिटो कानून निर्माण गरी नियमन गर्न दबाव दिने उदेश्यले सेवा अनिश्चितका लागि लागि बन्द गरेको बताए । उनले जोखीम मोलेर ठूलो लगानीमा जेट बोट सञ्चालन गरेका लगानी जोखिममा पर्दै बताएका छन् । 

जेटबोट सञ्चालकहरुले एक विज्ञप्ति जारी गर्दै राज्यले आवश्यक कानुन र सुरक्षा उपलब्ध नगराएको भन्दै अनिश्चितकालका लागि बन्द गर्ने उल्लेख गरेका हुन्। स्थानीय तहले समन्वय गर्ने भन्दा पनि कर बढाएर दुःख दिने नियत राखेकाले चलाउन नसक्ने अवस्था सृजना भएको उनीहरुको भनाइ छ। 

अहिले सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, वरुण वाटरवेज, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा गरी चार कम्पनीले सप्तकोसीमा ६ वटा जेटबोट चलाइरहेका छन्।

१८ जनादेखि ६० जनासम्म अट्ने दुई किसिमका जेटबोट कोसीमा सञ्चालित छन्। जसले तराइ र पहाडको दुरी जलमार्गबाट घटाएर पर्यटनमा समेत टेवा दिँदै आएको छ ।

उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहा नगरपालिकाको बीचमा रहेको सप्तकोसी पुलबाट भोजपुरको हलेदे र धनकुटाको सिम्लेसम्मको जेट बोट सञ्चालन रहेको थियो । सुनसरीको बराह क्षेत्र १ मा रहेको चतराघाटबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेटबोट सञ्चालनमा ल्याएपछि सर्वसाधरणलाई राहात भएको थियो । भोजपुरका स्थानीयले समेत जेटबोट बाटै यात्रा गर्ने गरेका थिए ।  जसले गर्दा सडक संजाल नपुगेका स्थानीयहरु प्रभावित भएका थिए।

प्रतिक्रिया दिनुहोस