aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

चीनबाट नेपाली ल्याउन १२ करोड छुट्याईयो, शनिवार विमान चीन जाने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ फागुन २०७६
चीनबाट नेपाली ल्याउन १२ करोड छुट्याईयो, शनिवार विमान चीन जाने

काठमाडौं । चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउन शनिबार नेपाल एयरलाइन्सको विमान चीन जाने भएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिवार दिउँसो २ बजेर ४५ मिनेटमा वुहान जाने भएको हो ।

चीनकाे वुहान क्षेत्रमा काेराेना भाइरसकाे संक्रमण बढेपश्चात त्यहाँ रहेका नेपालीहरूले नेपाल फर्कन पाउनुपर्ने माग गरेपछि सरकारले इच्छुकहरूलाइ नेपाल फिर्ता ल्याउने ब्यवस्था गरेकाे हाे ।

नेपाल वायुसेवा निगमका अनुसार शनिवार उद्धारका लागि पठाइन लागेको जहानमा तीनजना चालकसहित नौ जनाको टोली हुने गरी तयारी गरिएको छ । नेपालबाट जाने विमानमा चारजना स्वास्थ्यकर्मीहरू पठाइन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनबाट विमान आइतबार बिहान सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । अवतरण गरेपछि जहाजले ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्ने छैन ।

चीनबाट ल्याइएका नेपालीलाई विमानस्थलमा कोरोना जाँच गरिने छ । कोरोनाको लक्षण देखिएकालाई टेकु अस्पतालको आइसोलेसनमा लगिने छ भने अन्यलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिरणमा राखिने छ ।

उनीहरुलाई दुई साता प्राधिकरणको क्वारेन्टाइनमा राखिने छ, त्यसक्रममा उनीहरुले आफ्ना अभिभावकसँग पनि भेटघाट गर्न पाउने छैनन् । क्वारेन्टाइन लागि सरकारले १ सय ९९ वेडको व्यवस्था गरिसकेको छ ।

चीनबाट नेपाली नागरिकको उद्धारका लागि सरकारले १२ करोड रुपैयाँ बजेट छुट्ट्याइसकेको छ ।

चीनस्थित नेपाली दूतावासले वुहानको ३ वटा विश्वविद्यालयमा रहेका विद्यार्थीलाई विमानस्थलसम्म ल्याउनका लागि तीन वटा सवारी साधनको व्यवस्था गरेको जनाएको छ ।

वुहान क्षेत्रमा २ सय १५ जना जति नेपाली रहेपनि १ सय ८७ जनाले नेपाल फर्कन चाहेको दूतावास स्रोतले बतायाे । 

प्रतिक्रिया दिनुहोस