aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

कोरोनाभाइरस: वुहानबाट ल्यइने नेपाली कम्तिमा १४ दिन खरिपाटीमै राखिने, अरू केके गर्ने ?

  • बीबीसी
    बीबीसी
  • शुक्रबार, ०२ फागुन २०७६
कोरोनाभाइरस: वुहानबाट ल्यइने नेपाली कम्तिमा १४ दिन खरिपाटीमै राखिने, अरू केके गर्ने ?

काठमाडाैं । कोभिड-१९ अर्थात् कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु चीनको हुबे प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई उद्धार गर्न आवश्यक तयारी लगभग पूरा भएको जानकारी दिएका छन् ।

तर उक्त उद्धारबारे धेरै प्रश्न अनुत्तरित छन् । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट पनि ती प्रश्नहरू उठेका छन् ।

ती प्रश्नको उत्तर खोज्नका लागि बीबीसीले हुबेबाट नेपालीहरूको उद्धारको तयारीका लागि खटिएका केही अधिकारीहरूसँग कुरा गरेको छ ।

उनीहरूमध्ये केहीले औपचारिक रूपमा र केहीले अनौपचारिक रूपमा बीबीसीलाई उद्धारको अन्तिम तयारी र त्यसको सम्पूर्ण प्रक्रियाबारे जानकारी दिएका छन् ।

उनीहरूसँगको कुराकानीका आधारमा बीबीसी न्यूज नेपालीले हुबेमा रहेका नेपालीको उद्धारबारे यो सामग्री तयार पारेको हो ।

हुबेमा रहेका नेपालीहरूलाई स्वदेश ल्याउनका लागि सरकारले नेपाल वायुसेवा निगमको एउटा विमान तयारी अवस्थामा राखेको छ ।

उक्त जहाज शनिवार दिउँसो २:४५ बजे काठमाण्डूबाट चीनको हुबे प्रान्तको राजधानी वुहानका लागि उड्नेछ ।

त्यहाँबाट नेपाल आउन चाहने १८७ जनालाई लिएर उक्त विमान आइतवार बिहान २:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने योजना छ ।

कुल २७४ यात्रु बोक्न सक्ने उक्त विमानमा नेपाली सेनाका विशेष तालिमप्राप्त चार चिकित्सक पनि रहनेछन् ।

चालक दलका सदस्यका रूपमा त्यसमा तीन क्याप्टेन, छ क्याबिन क्रू, एक इन्जिनियर र एक लोडमास्टर गरी ११ जना रहनेछन् ।

विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार सबै प्रक्रिया पूरा गरेर उनीहरू सबैलाई पठाउन लागेको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् ।

उनका अनुसार चालकदलका सबै सदस्य र चिकित्सकले स्वास्थ्यसम्बन्धी तालिम पनि लिएका छन् भने भाइरस सङ्क्रमणबाट बच्नका लागि सुरक्षात्मक उपायहरू पनि अपनाइनेछ ।

वुहानमा पुगेपछि सबै नेपालीहरू विमानमा प्रवेश गरेपछि मात्र अन्तिममा चिकित्सा टोलीका चार जना विमानमा प्रवेश गर्नेछन्। नेपालमा विमान अवतरण भएपछि पनि सुरुमा उक्त टोलीका सदस्यहरू नै सबैभन्दा पहिले ओर्लिनेछन् ।

चीनतर्फ कस्ताे छ तयारी
अधिकारीहरू र हुबे प्रान्तमा रहेका नेपालीहरूले बीबीसीलाई दिएको जानकारी अनुसार हुबेका विभिन्न स्थानमा रहेका नेपालीहरूलाई वुहानमा भेला पारेर स्वदेश फर्काइनेछ ।

त्यसका लागि स्वयंसेवकहरू तोकिएका छन् भने बेइजिङस्थित नेपाली दूतावासले सवारीसाधनको व्यवस्था गरेको छ ।

नेपाल आउन चाहनेमा लगभग सबैजसो विद्यार्थीहरू रहेकाले उनीहरूलाई विश्वविद्यालयबाट सङ्क्रमण नहुने खालको मास्क र ज्याकेटआदि पोसाक प्रयोग गरेर सुरक्षित रूपमा मात्र सवारी साधनमा राखिनेछ ।

विश्वविद्यालयबाट निस्कनुअघि र विमानस्थलमा आइपुगेपछि पनि उनीहरूमा सङ्क्रमण रहेको वा नरहेको भन्ने परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

दूतावासले स्वदेश फर्किन चाहनेहरूलाई बुधवार नै एउटा सर्तनामा भराएको छ भने बिहीवार उनीहरूलाई यात्राको विवरण पठाएको छ।

बीबीसीको सम्पर्कमा रहेका हुबेका नेपालीहरूले साझा गरेको दूतावासको सूचनामा हुबेका छवटा सहरमा रहेका १२ वटा विश्वविद्यालयबाट विद्यार्थीहरू नेपाल आउँदैछन् ।

दूतावासले विद्यार्थीहरूलाई अत्यावश्यक सामग्री मात्र बोकेर आउन सूचित गरेको छ । उनीहरूले २० किलो लगेज र पाँच किलोसम्म ह्यान्डक्यारी बोक्न पाउनेछन् ।

उनीहरूलाई वुहानसम्म आउने बसमा पनि सङ्क्रमण हुन नदिन सुरक्षात्मक उपायहरू अपनाइएको जनाइएको छ ।

वुहानस्थित विमानस्थलमा आइपुगेपछि उनीहरूको शरीरको तापक्रम नापेर मात्र विमानमा बस्न दिइनेछ ।

त्यसपछि विमानमा पनि उनीहरूलाई चिकित्सा टोलीले निरन्तर निगरानी गर्नेछ। विमानमा चालकदलका सदस्यले पनि सुरक्षात्मक ज्याकेट र मास्क लगाएर उडान गर्नेछन् ।

विमानस्थलबाट खरिपाटीसम्म पुर्‍याउने व्यवस्था
उद्धारकार्यको तयारीमा खटेका कम्तीमा तीन अधिकारीहरूले बीबीसीलाई दिएको जानकारीअनुसार वुहानबाट आइतवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विशेष विमान अवतरण भएपछि सुरुमा चिकित्सक टोली बाहिर निस्किनेछ ।

उनीहरूले विमानभन्दा बाहिर धावनमार्गमै विशेष चिकित्सकीय निगरानीको प्रक्रिया पूरा गर्नेछन् र यात्रुलाई ओर्लिन दिनेछन् ।

त्यसपछि चिकित्सक, चालक दलका सदस्यहरू र हुबेबाट फर्केका सबै जनाले विमानस्थलमा स्थापना गरिएको स्वास्थ्य निगरानी कक्षमा गएर पुन: तापक्रम मापनजस्ता प्रक्रिया पूरा गर्नुपर्नेछ ।

उनीहरू उत्रिएपछि उक्त विमानलाई पनि क्वारन्टीनमा राख्ने कतिपयले बताएका छन् । तर निगमकी प्रवक्ताले त्यसबारे स्पष्ट विवरण दिइनन् । उनले त्यसबारे उच्च स्तरबाटै निर्णय हुने बताइन् । 

उद्धारको तयारीका लागि खटिएका स्वास्थ्य मन्त्रालय र सुरक्षा निकायका अधिकारीहरूका अनुसार विमानस्थलबाट भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा चीनबाट आएका सबैलाई बसबाट लगिनेछ ।

उनीहरूलाई लिएर जानका लागि पाँचवटा पर्यटक बस तयार अवस्थामा राखिएका छन् । चालक र उनका सहयोगी बसको क्याबिनमा बस्ने र त्यो क्याबिनमा चीनबाट आएका कसैको पनि सम्पर्क नहुनेगरी सिसाको ढोकाले बन्द गरिएको अधिकारीहरू बताउँछन् ।

त्यसका साथै चालक र सहयोगीलाई सङ्क्रमण रोक्ने ज्याकेट र मास्क दिइनेछ ।

क्वारन्टीनमा कोको बस्नेछन ?
विमानस्थलबाट खरिपाटी पुर्‍याउने बसका चालक र सहयोगीले क्वारन्टीनमा बस्नुपर्दैन । अधिकारीहरूका अनुसार सबै मानिस ओर्लिएपछि त्यहाँ विशेष किसिमले बसको सफाइ हुनेछ। त्यसपछि मात्र उनीहरूले बाहिर निस्किन पाउनेछन्।

हालसम्मको तयारीअनुसार उनीहरूलाई क्वारन्टीनमा राखिनेछैन । तर चीन जाने नेपाली सेनाका चिकित्सक र चालकदलका सदस्यहरूलाई क्वारन्टीनमा राख्ने तयारी गरिएको छ।

त्यसका लागि तालिम केन्द्रमै एउटा छुट्टै घरको व्यवस्था गरिएको अधिकारीहरूले बताए ।

तर नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले भने त्यसबारे उच्च स्तरबाटै निर्णय हुने भएकाले आफूलाई कुनै जानकारी नभएको बताइन् ।

चीनबाट आउने सबै मानिस उक्त केन्द्रमा कम्तीमा १४ दिन क्वारन्टीनमा बस्नुपर्नेछ । चीनस्थित नेपाली दूतावासले त्यहाँबाट आउने नेपालीहरूलाई १४ देखि १७ दिनसम्म त्यसरी बस्न सहमति गराइसकेको छ । त्यस क्रममा उनीहरूले आफन्त भेट्न र तोकिएको क्षेत्रबाहिर जान पाउनेछैनन् ।

प्रतिक्रिया दिनुहोस