
काठमाडाैं । कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड-१९ भएको पुष्टि भएका नेपालका प्रथम र एक मात्र व्यक्ति अहिले पूर्ण स्वस्थ भएर आफ्नो दैनिकीमा फर्किसकेकाे छ ।
ती ३१ वर्षीय व्यक्ति चिनियाँ सहर वुहानबाट रुघाखोकी लागेको अवस्थामा खुन्मिङ हुँदै विमानबाट काठमाण्डू उत्रिएका थिए ।
वुहानमा रहेका नेपालीहरू नयाँ भाइरसबाट सङ्क्रमित नभएकाले नेपालमा कोही पनि डराउनुपर्ने अवस्था नआएको उनी बताउँछन् ।
उनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई सामान्य औषधिका अतिरिक्त अलि फराकिलो दायराको हुने ब्रोड स्पेक्ट्रमको एन्टिबायोटिक औषधि दिइएको थियो ।
चिकित्सकहरूका अनुसार नेपालका पर्रथ पहिलो कोरोनाभाइरस सङ्क्रमित ती व्यक्ति अहिले पूरै स्वस्थ भइसकेका छन् ।
प्रस्तुत छ बीबीसी न्यूज नेपालीले उनीसँग बिहीवार गरेको कुराकानीमा आधारित यो विवरण
"म चीनको वुहान सहरमा अध्ययन गर्छु। ज्यानुअरी र फेब्रुअरीमा विश्वविद्यालयमा जाडोको छुट्टी हुने भएकोले म ज्यानुअरी ९ तारिखमा वुहानबाट खुन्मिङ हुँदै नेपाल आएँ।
मलाई वुहानमा नै रुघाखोकी लागिरहेको थियो। त्यहाँ भाइरसको नयाँ सङ्क्रमण सुरु भइसकेको पनि मलाई थाहा भइसकेको थियो।
त्यसैले शङ्का लागेर ज्यानुअरी १३ तारिखमा म काठमाण्डूको टेकु अस्पताल गएँ जहाँ मलाई अलिकति ज्वरो आएको थाहा भयो ।
म वुहानबाट आएको थाहा पाएपछि चिकित्सकले मलाई निरीक्षणमा राखेर उपचार गर्नुपर्ने सल्लाह दिनुभयो ।
कोरोनाभाइरस सङ्क्रमणको आशङ्का
त्यसपछि टेकु अस्पतालमै राखेर मेरो उपचार सुरु गरियो। डाक्टरहरूले मलाई औषधिहरू दिनुभयो र राम्रो हेरचाह गर्नुभयो ।
मलाई सुईबाट एन्टिबायोटिक औषधि पनि दिइयो। दुई दिनपछि नै मलाई आराम भइहाल्यो ।
कोरोनाभाइरस सङ्क्रमणको आशङ्कापछि मेरो खकारको नमुना जाँचको लागि हङकङ पठाइएको थियो। तर म ठिक भएर अस्पतालबाट घर फर्किएँ।
पछि हङ्कङबाट मेरो खकारको नमुना परीक्षणको नतिजा आएछ। कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएछ ।
डाक्टरले फोन गरेर मलाई भिडभाडबाट टाढै बस्नु र आफ्नो राम्रो हेरचाह गर्नु भन्नुभयो। त्यसपछि म केही डराएँ ।
केही दिनपछि ज्यानुअरी २७ तारिखमा काठमाण्डूमै फेरि मेरो परीक्षण गरियो । त्यतिबेला म कोरोनाभाइरस सङ्क्रमणमुक्त भइसकेको पुष्टि भयो । तैपनि म सावधान रहिरहेँ । चिकित्सकहरूसँगको सम्पर्कमा रहिरहेँ ।
त्यसको दुई दिनपछि ज्यानुअरी ३१ तारिखमा फेरि मेरो खकार जाँच गरियो। म कोरोनाभाइरसको सङ्क्रमणमुक्त भएको फेरि पुष्टि भयो ।
त्यसपछि म आफ्नो घर र काठमाण्डू आउजाउ गरिरहेको छु । आफ्नो स्वास्थ्यप्रति सजग छु र आफ्नो राम्रो हेरचाह गरिरहेको छु ।
प्रतिक्रिया दिनुहोस