aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

विश्व अर्थतन्त्रमा कोरोना कहर

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, ०३ फागुन २०७६
विश्व अर्थतन्त्रमा कोरोना कहर

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमण फैलँदै जाँदा विश्व अर्थतन्त्रको विस्तार कमजोर हुने देखिएको छ। वस्तु निर्यातको जगमा फैलिएको चिनियाँ अर्थतन्त्रमा यो महामारी ठूलो अभिशाप देखिएको छ। मानवीय क्षति त छँदै छ, अर्थतन्त्र पनि चौपट हुने संकेत देखापर्न थालेको छ।

महामारीको समाधान नभए विश्वभर सवारीसाधन उत्पादन बन्द हुन सक्छ। वस्तु उत्पादनमा चिनियाँ कच्चा वस्तु उपभोग गर्ने र चीनमै उद्योग राखेर वस्तु उत्पादन गर्ने क्रमले पछिल्लो दशकमा व्यापकता पाएको छ।

चीन तथा त्यहाँको उत्पादन प्रणाली (मूल्य शृंखला) मा आबद्ध अन्य देशका उद्योग, व्यवसायमा पनि समस्या देखिन थालेको छ। वुहानमात्र नभएर चीनका अरू आर्थिक केन्द्र पनि सुनसान छन्।

सवारीसाधन निर्माणमा चीनबाट कच्चा पदार्थ आपूर्तिको विकल्प उत्पादकहरूसँग छैन। ९० प्रतिशतभन्दा बढी पार्टस् आपूर्ति चीनबाटै हुन्छ। चीनबाट पार्टस् प्राप्त गर्न नसकेपछि जापानको कार निर्माता कम्पनी निसानले जापानको फ्याक्ट्री अल्पकालका लागि बन्द गरेको छ। त्यहाँबाट सेरेना र एक्स–ट्रेल मोडलका गाडी उत्पादन हुँदै आएका थिए।

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले चिनियाँ पार्टस् अभावमा गत साता फ्याक्ट्री बन्द गरेको छ। विश्वका सबैजसो कार निर्माता कम्पनीमा यस्तै समस्याका कारण उत्पादन प्रभावित भएको छ।

चीनबाट वस्तु आपूर्ति ठप्प भएपछि विश्व बजारमा गार्मेन्ट्सका आपूर्ति शृंखला प्रभावित भएको छ। औषधिदेखि ग्याजेटसम्मको पार्टस्का लागि उत्पादकहरू चीनमा निर्भर छन्। चीन विश्वभर आपूर्ति प्रणालीको केन्द्रमा छ। चीनबिनाको उत्पादन र व्यापार प्रणाली कल्पनाबाहिर हुन्छ भन्ने अस्थायी परिस्थितिलाई लिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस