काठमाडौं । धितोपत्रको दोस्रो बजारमा ऋणपत्र (डिबेञ्चर)को कारोबार हुन थालेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यसको मूल्यको आधार तोक्ने तयारी गरेको छ । यसबाट दोस्रो बजारमा ऋणपत्रको कारोबार व्यवस्थित हुने नेप्सेको अपेक्षा छ ।
नेप्सेले अनलाइन कारोबार प्रणालीमा ऋणपत्रको समेत कारोबार गर्न सकिने व्यवस्था गरेको छ । केही बैंकको ऋणपत्र किनबेचसमेत भएको छ । तर, त्यसको मूल्य कसरी तय गर्ने र त्यसमा पूँजीगत लाभकरको गणना कसरी गर्ने भन्ने व्यवस्था अहिले छैन ।
नेप्सेले ऋणपत्रको किनबेचका लागि पूर्वाधार तथा प्रविधिको व्यवस्था त गरेको छ तर लगानीकर्तालाई किनबेच गर्दाको मूल्य, पाकिसकेको ब्याज कसले प्राप्त गर्ने र त्यसको आधारमा ऋणपत्रको मूल्य कसरी संयोजन गर्ने भन्ने प्राविधिक विषयमा व्यवस्था बनिसकेको छैन । यसलाई व्यवस्थित गर्नेबारेमा अध्ययन भएको र छिटै मूल्य र पूँजीगत लाभकर आदि बारेका मोडालिटी तयार गरिने जानकारी नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले दिए । उनका अनुसार उक्त कामको लागि नेप्सेले पूँजीबजार, बोन्ड तथा डिबेञ्चर विज्ञ हेमन्त बस्याललाई अध्ययन प्रतिवेदन बुझाउन जिम्मा दिएको थियो । उनले पछिल्लो पटक माघ २४ गते अध्ययन प्रतिवेदन बुझाएका थिए । छलफलपछि उक्त प्रतिवेदनमा थपघट गर्न पठाइएको उनले बताए ।
नेप्सेले करीब २ महीनादेखि ऋणपत्र बजारलाई स्थान (प्लेटफर्म) मात्र उपलब्ध गराएको छ । अहिले ऋणपत्रको किनबेच भइरहेको देखिए पनि त्यसमा अन्तरराष्ट्रिय अभ्यास अनुरूप नभएको लगानीकर्ताको भनाइ छ । त्यसो त आम लगानीकर्तालाई ऋणपत्रको किनबेच भए पनि त्यसको मूल्य कसरी निर्धारण हुन्छ भन्ने जानकारी देखिँदैन । अधिकांशमा ऋणपत्र किनेपछि ब्याजमात्र खाने र परिपक्व भएपछि पैसा लिने भन्नेमात्र अवधारणा छ । साउद बताउँछन्, ‘यसकारण ऋणपत्र किनबेच गर्दा कसरी लाभ लिन सकिन्छ र के आधारमा कति मूल्य तिर्ने भन्नेबारेमा लगानीकर्तालाई जानकारी दिन दोस्रो बजारको प्रणाली ल्याएका हौं । केही लगानीकर्ताले किनबेच गर्न पनि थालेका छन् ।’ उनका अनुसार नेप्सेले सरकारी ऋणपत्र र व्यावसायिक ऋणपत्र सबैको कारोबार गर्न पूर्वाधार र प्रविधि बनाए पनि नियम कानून भने बनाउन बाँकी छ । त्यस्तै सफ्टवेयरमा पनि केही परिवर्तन गर्न बाँकी रहेको छ । नेप्से अहिले यसमा समेत केन्द्रित भएको साउदको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्न निर्देशन दिएको छ । हालसम्म सानिमा, ग्लोबल आईएमई, एनआईसी एशिया, एनएमबी, एभरेष्ट, बैंक अफ काठमाण्डू, सिद्धार्थ बैंक, सनराइज बैंक र प्रभु बैंकले ऋणपत्र जारी गरी नेप्सेमा सूचीकृत भएका छन् । यसबाहेक अन्य वाणिज्य बैंक पनि ऋणपत्र जारी गरी सूचीकृत हुने क्रममा छन् ।
सूचीकृत भएका सानिमा बैंक, एनआईसी एशिया र सिद्धार्थ बैंकको दोस्रो बजारको किनबेच हुन थालेको छ । गत पुस १० गते सानिमा बैंकको संस्थागत ५० हजार कित्ता ऋणपत्र प्रतिकित्ता रू. ९६३ का दरले किनबेच भएको थियो । हालसम्म १६ दिनमा २६ पटक भएको व्यापारमा यो बैंकको ऋणपत्र किनबेच भएको हो । सानिमा बैंकले प्रतिकित्ता रू. १००० मूल्यको १० वर्षमा परिपक्व हुने गरी वार्षिक १० प्रतिशत ब्याजदरको ऋणपत्र २०७५ पुस २४ गते बाँडफाँट गरेको थियो ।
यसैगरी एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०८२/८३ मा परिपक्व हुने ११ प्रतिशत ब्याजदरमा जारी गरेको ऋणपत्र २६ पटकसम्म किनबेच भएको छ । रू. १ हजार अंकित मूल्यको ऋणपत्र १ हजार ३ देखि १ हजार २० रुपैयाँसम्ममा कारोबार भएको छ । यसैगरी सिद्धार्थ बैंक लिमिटेडको १० वर्षे ऋणपत्र ६ पटकसम्म कारोबार भएको छ ।
यसअघि ऋणपत्र निष्कासनका क्रममा सर्वसाधारणको आकर्षण कम देखिएको थियो । साथै शुरुआती चरणमा कम्पनीहरूले निष्कासन गरेको ऋणपत्र धितोपत्रको दोस्रो बजारमा सूचीकृत भए पनि कारोबार भने हुने गरेको थिएन । अब अभौतिकीकरण भएका ऋणपत्र किनबेचका लागि कुनै समस्या नभएको नेप्सेको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस