
काठमाडौं । छिमेकी मुलुक भारतका सत्तासिन भारतीय जनता पार्टीका प्रभावशाली हिन्दूवादी नेता तथा नेपाल मामिलाका जानकार डा.दिनेश उपाध्यायले हाल बाहिर आएको भारत नेपालसँगको सीमा विवाद समाधानको लागि जहिल्यैपनि तत्पर रहेको स्पष्ट पारेका छन् ।
पत्रकारहरु संग साक्षात्कार कार्यक्रममा सहभागी पत्रकारहरुले देशको पश्चिमी सीमामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमी भएको सुनाउँदै भारतीय सेना त्यहाँवाट कहिले फिर्ता हुन्छ भनेर सोधेको प्रश्नमा उनले भने,‘यो विषय लिएर नेपालका अधिकारीहरु भारत आएमा , म भारतीय सीमा प्रशासनका प्रमुखसँग कुरा गराउँछु । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीमात्रै निर्णायक हुँदैनन्, हाम्रो त संगठन नै सर्वेसर्वा हुन्छ ।’
बोल्दै उपाध्यायले नेपाल देवी देवता र ऋषि महिर्षीहरुको पवित्र भूमी भएको उल्लेख गर्दै ‘पूरै विश्वमा नेपाल एकमात्रै त्यस्तो देश हो, जो आजसम्म कसैको पनि अधिनमा बस्नु परेन र गुलाम भएन । हामीलाई थाहा छ यो गुलामी हुँदाको पीडा र सजाय, यो मैले नेपाल र नेपालीहरुलाई प्रभावित गर्नको लागि बोलिरहेको छैन्, यो सत्य कुरा हो । विश्वको सर्वोच्च शिखर माउण्ट एभरेष्ट भएको देश नेपाल त पूरा विश्वको शीर हो । टोपी हो ।’
उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर रहेको स्पष्ट पारे । उनले भने,‘नेपाल र भारतबीच एक देश वा छिमेकी छिमेकीबीचको मात्रै सम्बन्ध छैन्, यो चीन, पाकिस्तान वा बंगलादेशजस्तो सम्बन्ध होईन, नेपाल त हाम्रो सहोदर भाई हो । हामीबीच रोटी र बेटीको सम्बन्ध छ ।’ उनले नेपालसँगको सम्बन्धको कुरा गर्दा भारतको आत्मा नेपालतर्फ भएको पनि सुनाए । ‘यो धर्ती रहुञ्जेलसम्म हामीबीचको सम्बन्ध कसैले पनि र कहिल्यैपनि समाप्त गर्न सक्दैन्’–उपाध्यायले भने ।
नेता उपाध्यायले नेपालमा कुनै नोक्शानी भए त्यसको प्रत्यक्ष असर भारतमा पर्ने र भारतमा त्यस्तो भए नेपालमा पनि असर पर्नेपनि सुनाए । उनले भने,‘यदि कुनै एक देशमा लाभ भए त्यसको लाभ अर्को देशमा पनि पर्छ ।’ उनले भारतबाट नेपाललाई कहिल्यैपनि हानी नभएको विश्वास दिलाए । उनले थपे,‘अहिलेसम्म भारतबाट नेपाललाई कुनै हानी भएको छैन, र भोलिका दिनमा पनि हुने छैनन् ।’
प्रतिक्रिया दिनुहोस