
काठमाडौं । प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ४० पुरुष १६ महिला र एक तेस्रोलिङ्गी गरि ५७ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले गेष्ट हाउस सञ्चालन गरेर वेश्यावृत्तिमा लगाउने शिवपुरी गेष्ट हाउसका सञ्चालक विनोद भट्टराई, मुस्ताङ गेष्ट हाउसका सञ्चालक नरेन्द्र पोमु र वाग्लुङ भोजनालयका सञ्चालक सोमबहादुर तामाङलाई पक्राउ गरेको छ ।
यसैगरी गेष्ट हाउसमा बिचौलियाका रुपमा कार्यरत विष्णु थापा, अशोक पोमु र कमल कालाखेतीलाई समेत नियन्त्रणमा लिएको छ । अभियानका क्रममा जबर्जस्ती करणी मुद्दामा फरार अपराधी शनकाजी दर्जी पनि पक्राउ परेका छन् ।
नयाँबसपार्क क्षेत्रको विकृति, विसङ्गति अन्त्यका लागि वेश्यावृत्ति, पाकेटमार र जबर्जस्ती करणी मुद्दामा फरार व्यक्तिलाई नियन्त्रणका लागि पनि अभियान चाल्नुपरेको प्रहरीको भनाई छ ।
महाराजगञ्ज प्रहरीले पाँच महिनाको अवधिमा बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा लाग्ने झण्डै एक हजार व्यक्तिलाई पक्राउ गरी कारबाही गरिसकेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस