aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेपालबाट बस्तु निर्यात २६.१ प्रतिशतले बढ्याे, ५७ अर्ब २८ करोड बस्तु निर्यात, अन्य सूचक कस्ताे छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ फागुन २०७६
नेपालबाट बस्तु निर्यात २६.१ प्रतिशतले बढ्याे, ५७ अर्ब २८ करोड बस्तु निर्यात, अन्य सूचक कस्ताे छ ?

काठमाडाैं । आर्थिक वर्ष २०७६/७७ को ६ महिनामा कुल वस्तु निर्यात २६.१ प्रतिशतले वृद्धि भई रु.५७ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४५.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ८.५ प्रतिशत र अन्य मुलुकतर्फ ३.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, दाल लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

प्रमुख झलक

  1. वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८२ प्रतिशत छ । ६ महिनाको औसत मुद्रास्फीति ६.४१ प्रतिशत छ ।
  2. आयात ४.० प्रतिशतले घटेको छ भने निर्यात २६.१ प्रतिशतले बढेको छ ।
  3. विप्रेषण आप्रवाह ०.९ प्रतिशतले बढेको छ ।
  4. शोधनान्तर स्थिति रु.२६ अर्ब ६५ करोडले बचतमा छ ।
  5. कुल विदेशी विनिमय सञ्चिति रु.१०९५ अर्ब ९८ करोड बराबर कायम भएको छ । उक्त सञ्चिति ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।
  6. संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च रु.३७८ अर्ब १७ करोड र राजस्व परिचालन रु.४८३ अर्ब ७२ करोड छ ।
  7. विस्तृत मुद्राप्रदाय ५.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.५ प्रतिशतले बढेको छ ।
  8. बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.२ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ८.६ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १६.३ प्रतिशत र कर्जाको वृद्धिदर १५.१ प्रतिशत छ 

नेपाल राष्ट्र बैंकले जारी गरेकाे ५ महिने अवधिकाे तथ्याङ्कले उक्त अवस्था देखाएकाे हाे । यसैगरी, आर्थिक वर्ष २०७६/७७ को ६ महिनामा कुल वस्तु आयात ४.० प्रतिशतले घटेर रु.६९४ अर्ब ६९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३०.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९.१ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ र ०.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, मेसिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरण लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ । 

आर्थिक वर्ष २०७६/७७ को ६ महिनासम्ममा कुल वस्तु व्यापार घाटा ६.१ प्रतिशतले संकुचन भई रु.६३७ अर्ब ४१ करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३२.० प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.३ प्रतिशत रहेको थियो ।

निर्यात आयात मूल्य सूचकाङ्क
त्यस्तै, २०७६ पुस महिनामा भन्सार तथ्याङ्कमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकाङ्क (Unit Value Index) १.३ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क १.९ प्रतिशतले बढेको छ । २०७५ पुस महिनामा वार्षिक बिन्दुगत आधारमा ०.१ प्रतिशतले घटेको व्यापारको शर्त (Terms of Trade) २०७६ पुस महिनामा ०.६ प्रतिशतले घटेको छ । 

प्रतिक्रिया दिनुहोस