aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बजारमा सुन पाउन भन्दा लसुन पाउन गाह्रो !

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, ०५ फागुन २०७६
बजारमा सुन पाउन भन्दा लसुन पाउन गाह्रो !

काठमाडौं । कोरोना भाइरसका कारण नेपाल–चीन सिमाना बन्द हुँदा नेपाली बजारमा लसुनको अभाव देखिन थालेको छ । नेपालमा भारत र चीनबाट लसुन आयात हुने गरेको छ । नेपाली र भारतीय लसुन बजारमा आउने बेला भएको छैन । यही समयमा चीनबाट पनि आयात बन्द भएपछि बजारमा लसुनको अभाव देखिएको व्यवसायीहरू बताउँछन् ।

पुसको शुरूदेखि चीनको उहान प्रान्तमा कोरोना भाइरस महामारीको रूपमा फैलिएको थियो । त्यसलाई नेपालमा फैलिन नदिन माघ तेस्रो सातादेखि चीनसँग जोडिएका सबै सीमा नाका बन्द गरिएका कारण चीनबाट हुने आयात ठप्प छ । चिनियाँ लसुनको भण्डार रित्तिएपछि कालीमाटी फलपूmल तथा तरकारी विकास समितिले लसुनको मूल्यसमेत तोक्न छाडेको छ । 

नेपालमा यो याममा चीनबाट सबैभन्दा बढी आयात हुने खाद्य वस्तु लसुन हो । त्यसैको प्रभाव परेर लसुन अभाव भएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

‘यो सिजनमा चिनियाँ लसुनले माग धान्ने गरेको छ । चीनबाट लसुन आयात नभएपछि बजारमा यसको अभाव देखिएको हो,’ उनले भने, ‘भण्डारणमा रहेको नेपाली लसुन सकिइसकेको छ ।’ बजारमा लसुनको अभाव देखिन थालिसकेको उनले बताए । 

पछिल्लो समय नेपालमा लसुनको उत्पादन घटेको र विदेशी लसुनको आयात बढ्दै गएको व्यवसायी बताउँछन् । चिनियाँ लसुन नेपाली र भारतीयभन्दा किफायती हुने भएकाले बढी खपत हुने गरेको तरकारी व्यवसायी कुशल लामा बताउँछन् । ‘चीनको लसुनको माग बढी भएकाले हामीले आयात गर्ने गरेका थियौं,’ उनी बताउँछन् ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महीनामा मात्रै चीनबाट भन्दा भारतबाट ४ गुणा बढी लसुन आयात भएको छ । यसअवधिमा चीनबाट साढे ३८ अर्ब रुपैयाँ बराबरको ३४ हजार मेट्रिक टन लसुन आयात भएको छ । जबकि यही अवधिमा भारतबाट रू. ९ करोडको ६०० मेट्रिक टन लसुन आयात भएको देखिन्छ ।

भृकुटीमण्डपस्थित इच्छुमति कृषि तरकारी बजारका व्यवसायी बालकृष्ण श्रेष्ठका अनुसार नेपाली लसुनले करीब ३ महीनाको बजार माग धान्छ । बाँकी लसुनका लागि विदेशी लसुनको भर पर्नुपर्छ । हरेक वर्ष यस याममा लसुनको अभाव हुने र मूल्य वृद्धि हुने गरेको छ । तर प्रतिकिलोको मूल्य रू. ४ सयभन्दा बढी पुगेको यो नै पहिलोपटक भएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस