aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपाल विद्युत् प्राधिकरण : वितरणतर्फको चुहावट एकल अङ्कमा झार्न सफल

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, ०५ फागुन २०७६
नेपाल विद्युत् प्राधिकरण : वितरणतर्फको चुहावट एकल अङ्कमा झार्न सफल

नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणालीमा रहेको चुहावटलाई एकल अङ्कमा झार्न सफल भएको छ । गत साउन अन्त्यसम्ममा रहेको ११.२८ प्रतिशतमा रहेको वितरण प्रणालीको चुहावटलाई छ महिनाभित्र ९.७८ मा झार्न सकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले अबको छ महिनाभित्र ८‍.५ प्रतिशतमा समेट्ने लक्ष्य राखेको छ । १५.३२ प्रतिशत रहेको समग्र चुहावटलाई चालू आवमा १३ मा झार्ने लक्ष्यका साथ प्रणाली सु्धार तथा चोरी नियन्त्रण अभियानलाई सक्रिय बनाइएको प्राधिकरणले जनाएको छ ।

आव २०७२÷७३ मा प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत् चुहावटलाई आव २०७५/७६ सम्ममा १५.३२ प्रतिशतमा झारिएको छ । चालू आर्थिक वर्षको बाँकी छ महिनामा चुहावट नियन्त्रणको निर्धारित लक्ष्य हासिल हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको दाबी छ । चुहावट नियन्त्रणबाट मात्रै वार्षिक रूपमा झन्डै १० अर्ब रुपियाँ थप आम्दानी भएको उनको भनाइ छ ।

घिसिङले लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उल्लेख गरे ।प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवाप्रवाह सुधारमा केन्द्रित रहेर सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय प्रमुख र मातहतका एक सय २९ वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस