
बाँके । बाँकेको कोहलपुर नगरपालिकास्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडको १३ बिघा जग्गा २३ वर्षदेखि उपयोगविहीन बनेको छ । एकेडेमीले अस्पतालको भौतिक संरचना बनाउन भन्दै तत्कालीन सरकारसँग २३ बुँदे सम्झौता गरी जग्गा भाडामा लिएको थियो ।
एकेडेमीले सोही जग्गामा नै अस्पताल निर्माण गरी सञ्चालन गर्ने सहमति सम्झौतामा भएको थियो । तर, एकेडेमीले सम्झौताविपरीत कोहलपुर नगर विकास समितिबाट सहुलियत दरमा १० बिघा जग्गा लिइ भौतिक संरचना बनाई अस्पताल सञ्चालन गरेको भेटिएको छ । अहिले कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालन भएको जग्गा नगर विकास समितिबाट प्राप्त सहुलियतको हो ।
तत्कालीन शिक्षा मन्त्रालयका तर्फबाट निमित्त सचिव जयराम गिरी र एकेडेमीका अध्यक्ष मुकुन्दभक्त श्रेष्ठ बीचमा २०५३ पुस ४ गते उक्त जग्गा भाडाका लागि २३ बुँदे सम्झौैतापत्रमा हस्ताक्षर भएको जनाइएको छ । साविक रझेना गाविस–४ को कित्ता नं ९८ मा रहेको १३ बिघा जग्गा भाडामा लिइएको थियो ।
सम्झौतापत्रमा ४९ वर्षपछि जग्गामा निर्माण भएका पूर्वाधार तथा उपकरण र अन्य सामग्री नेपाल सरकारको मातहतमा हुने सहमति छ । एकेडेमीले जग्गा भाडाबापत अस्पतालले एक जना विद्यार्थी बराबर सात श्ययाको अस्पताल निर्माण गर्ने, आर्थिक अवस्था कमजोर रहेका नागरिकलाई निःशुल्क औषधि र ३० प्रतिशत श्यया पनि उपलब्ध गराउने सहमति छ ।
एकेडेमी तथा नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा सुरेश कनोडियाले उक्त जग्गा सरकारलाई फिर्ता गरिसकेको जानकारी दिन्छन् । “जग्गा नेपाल सरकारको हो, हामीले संस्थागत रूपमै निर्णय गरेर नेपाल सरकारलाई फिर्ता गरिसक्यौँ”, उनले भने, “अब सरकारले के गर्छ भन्नेबारे त्यो उसको कुरा हो, हामीलाई थाहा छैन ।”
सम्झौताअनुरूप काम नभएपछि जग्गा फिर्ता लिने प्रक्रियामा अघि बढाइएको नगर विकास समितिका अध्यक्षसमेत रहेका कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादर रावतले बताए । “लर्ड बुद्ध एजुकेशनल एकेडेमीले सम्झौता रद्द गरेर जग्गा प्रयोग गर्नुहोस् भन्ने पत्र नगरपालिकामा पठाएको छ”, उनले भने ।
सम्झौतापत्रअनुसार वडा नं २ मा रहेको उक्त जग्गा तथा भवन बेचबिखन दान दातव्य वा अन्य कुनै तरिकाबाट अरू कसैलाई हस्तान्तरण गर्न पाइँदैन । उक्त जग्गा भाडामा लिएबापत एकेडेमीले नेपाल सरकारलाई वार्षिकरुपमा रु एक लाख भाडा दिने सहमति छ । उक्त जग्गा श्रेस्ता दर्ता गर्न केही भूमाफिया सक्रियसमेत भएको स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस