aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

पप्पुसहित ६ निर्माण कम्पनी कालोसूचीमा, कुन-कुन परे ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ फागुन २०७६
पप्पुसहित ६ निर्माण कम्पनी कालोसूचीमा, कुन-कुन परे ?

काठमाडौं । ठेक्का लिंदै काम अलपत्र पार्दै हिँड्ने बिबादिद रहँदै अाएकाे पप्पुसहित ६ निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । विभिन्न आयोजनाकाे निर्माण ठेक्का लिएर सम्झौताअनुसार काम नगर्ने पप्पुसहित ६ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा सूचीकृत गरेको हो ।

यसअघि पटक–पटक कालोसूचीमा परेको पप्पु कन्स्ट्रक्सन प्रालिलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ । काठमाडौं उपत्यका सडक आयोजनाअन्तर्गतको योजनामा कबुलअनुसार पप्पुले काम नगरेपछि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
विवादास्पद् पप्पु कन्स्ट्रक्सन सांसद् हरिनारायण चौधरी स्वामित्वको निर्माण कम्पनी हो । अनेक विवादमा परेपछि अहिले कागजी रूपमा भने उनका छोरा सुमित रौनियारको स्वामित्व कायम गरिएको छ ।

प्रहरीका ठेक्का लिएर कबुलअनुसार, काम नगर्ने दामोदर दुलालले सञ्चालन गर्दै आइरहेको श्री श्रीदेव सप्लायर्स पनि बेइमान कम्पनीमा दरिएको छ । अनुगमन कार्यालयका अनुसार, प्रहरीका दुई ठेक्का लिएर सम्झौता अनुसार काम नगरेको भेटिएपछि यसलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

अशोक न्यासुरले सञ्चालन गर्दै आइरहेको श्री निशा सप्लायर्स पनि कालोसूचीमा परेको छ । नेपाल वन निगम लिमिटेडको सिफारिसका आधारमा कार्यालयले यसलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले बारा कन्स्ट्रक्सन र र एचबीकेसी निर्माण सेवालाई पनि कालोसूचीमा राखेको छ । बारालाई भेड्पु गाउँपालिका दोलखा र एचबीकेसीलाई नागरिक उड्डयन प्राधिकरणको सिफारिसका आधारमा कालोसूचीमा राखिएको हो । कबुल अनुसार, काम नगरेको भेटिएपछि दुवैलाई १/१ वर्ष कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस