aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

महराविरुद्धको मुद्दा केही बेरमै फैसला हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ फागुन २०७६
महराविरुद्धको मुद्दा केही बेरमै फैसला हुँदै

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले आज फैसला गर्ने भएको छ ।

काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध परेको बलात्कार प्रयास सम्बन्धी मुद्दाको आज (सोमबार) फैसला सुनाइने भएको हाे ।

महराविरुद्ध संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियाे ।

अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराविरुद्ध मुद्दाको सुनुवाइ आइतबारै सकिएको छ ।

न्यायाधीश पौडेलले फैसला टाइपिङमा ढिलाइ भएकाले सोमबार फैसला सुनाउने भन्दै साँझ साढे ५ बजे अदालतबाट बाहिरिएका थिए ।

आइतबारै फैसला सुनाउने तयारी गरिएकामा अन्तिम समयमा रोकेर सोमबारका लागि समय अभाव भएकाे भन्दै सारिएको हो ।

महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए ।

अब फैसला आज सुनाइने काठमाडौं जिल्ला अदालतका सहप्रवक्ता विकाससिंह खत्रीले जानकारी दिएका छन् । 

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले महरामाथि लागेको अभियोगबारे सम्भवतः सोमबार फैसला आउने जानकारी दिएका छन् । श्रेष्ठले भने समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सम्भवतः सोमबार (आज) फैसला आउँछ ।

संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका छन् ।

महराविरुद्ध करणी प्रयासमा ५ वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको छ ।

सबै प्रकृया सकिसकेकाेले केही बेरमै फैसला आउने सम्भावना रहेको छ ।

यस्तो थियो घटना
गत असोज १२ गतेर संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूलाई जबर्जस्ती करणी प्रयास गरेको बताएकी थिइन् ।

त्यही काण्डले महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।उजुरी दर्ता भएपछि उनी असोज १९ गते पक्राउ परे। तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध महराले उच्च अदालत पाटनमा पुनरावेदन दिए पनि जिल्लाकै आदेश सदर भयाे । 

अदालतमा बयान दिँदा भने आरोप लगाउने शाहीले महराले आफूलाई करणी प्रयास नगरेको बताएकी थिइन् । उनले सोही विवरणको निवेदन समेत अदालतमा दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस