aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

पूर्व सभामुख कारागारबाट छुटे, उपसभामुख मन्त्री बने एकै दिन पाए न्याय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ फागुन २०७६
पूर्व सभामुख कारागारबाट छुटे, उपसभामुख मन्त्री बने एकै दिन पाए न्याय

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा डिल्ली बजार कारागारबाट छुटेका छन् । संसद् सचिवालयमा कार्यरत एक कर्मचारीमाथि बलात्कार प्रयास आरोपमा पक्राउ परेका महरा जिल्ला अदालत काठमाडौंले आज सफाइ दिएपछि छुटेका हुन् ।

छुट्नुअघि महरालाइ पूर्व आइजीपी रमेशचन्द ठकुरी, सशस्त्रका पूर्व डिआइजी रञ्जन कोइराला र नेकपाका कार्यकर्ताले खादा र माला लगाएर बिदाइ गरेका थिए ।

महराको स्वागत गर्न डिल्लीबजार कारागार परिसरमा कार्यकर्ताको उपस्थिति उल्लासमय रहेको थियो ।

जेलबाट छुट्दासमेत उनलाइ कडा सुरक्षा दिइएको छ । महरा बिरुद्धको मुद्धामा आइतबार अन्तिम सुनुवाइ भएको थियो ।

आइतबार समय अभावको कारण देखाउदै जिल्ला अदालत काठमाडौले सोमबार मात्रै फैसला सुनाएको थियो । महरा गत असोज १९ गते पक्राउ परेका थिए ।

संयोगवस्, महराले सफाइ पाएकै दिन तत्कालीन उपसभामुख शिवमाया तुम्बाङ्फेले मन्त्री पद प्राप्त गरेकी छन् ।

महराको राजीनामापछि केही समय सभामुखको कार्यवाहक भूमिकासमेत निर्वाह गरेकी शिवमायाले सभामुख बन्ने चाहना राखे पनि पार्टीबाट स्वीकृति पाइनन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख पदमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने भएपछि उपसभामुख शिवमायाले राजीनामा दिएकी थिइन् । 

संवैधानिक बाध्यताका कारण शिवमायाले उपसभामुख पद त्याग्नु परेको थियो ।

संविधानअनुसार एउटै दल र लिङ्गबाट सभामुख र उपसभामुख हुन नमिल्ने भएपछि नेकपाले शिवमायाको राजीनामा माग गरेको थियो । यद्यपि लामो समयसम्म शिवमायाले राजीनामा नदिने अडान राख्दै आएकी थिइन् ।

आफ्नो कुनै गल्ती नरहेको र अरुको गल्तीको सजाय आफूले नभोग्ने बताउँदै उनले सके सभामुख, नभए उपसभामुख पदमै आफू काम गर्न तयार रहेको बताउँदै आएकी थिइन् ।

संयोग नै मान्नुपर्छ, तत्कालीन सभामुख महरा सोमबार अदालतबाट निर्दोष ठहर भई हिरासतमुक्त भएकै दिन तत्कालीन उपसभामुख शिवमायाले पनि ‘न्याय’ पाएकी छन् ।

उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाएकी हुन् । नेकपाले सभामुख पद आफूले नै लिने दावी गरेपछि संविधानको प्रावधानअनुसार उपसभामुख पद शिवमायाले त्याग्नुपर्ने संवैधानिक बाध्यता थियो । कतिपयले शिवमायाको राजीनामालाई ‘उनीप्रतिको अन्याय’ भन्दै आएका थिए ।
 

प्रतिक्रिया दिनुहोस