aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

चौधरीविरुद्ध अकुत मुद्दा

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • मंगलबार, ०६ फागुन २०७६
चौधरीविरुद्ध अकुत मुद्दा

काठमाडौं । डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन डिभिजन प्रमुख (सीडीई) जितेन्द्रकुमार चौधरीविरुद्ध अकुत सम्पत्तिको अभियोगमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन प्रमुख चौधरीविरुद्ध ३ करोड ९९ लाख ४४ हजार रुपैयाँ भ्रष्टाचार बिगो कायम गर्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

पदीय मर्यादा विपरीत सडकका विभिन्न आयोजनामा ठेकेदारसँग मिलेर गैरकानुनी सम्पत्ति आर्जन गरी घर–घडेरी जोड्ने, अवैध आर्जन गरी बैंकमा रकम जम्मा गरेको अख्तियार अनुसन्धानले पाएको पछि मुद्दा दायर गरिएको हो। यो मुद्दामा उनका श्रीमती र छोराछोरीलाई पनि प्रतिवादी बनाइएको छ। चौधरीलाई २ वर्ष कैद र बिगो बमोजिमको जरिवाना र अकुत सम्पत्ति जफतको माग गरिएको छ।

सीडीई चौधरीले गैरकानुनी सम्पत्ति आर्जन गरी उनले तथा उनको परिवारले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको पाइएको छ। चौधरीले सार्वजनिक सेवामा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनीरूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति आफूलगायत श्रीमती किरण चौधरी, छोरा अभिषेक चौधरी र छोरी स्मृति चौधरीको अध्ययनमा खर्च गरेका थिए।

हैसियत भन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोरासमेतका नाममा दर्ता कायम रहने गरी घर जग्गा खरिद गरेको देखिएको छ। छोरा–छोरीको शैक्षिक खर्चलगायतका विभिन्न शीर्षकमा गरेका खर्च गरेको अनुसन्धानबाट खुलेको छ। प्रतिवादी बनाइएका श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरीविरुद्ध सम्पत्ति जफत गरी पाउन समेतको माग दाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।

त्यस्तै गोरखाको नेपाने माध्यमिक विद्यालय, सिरानचोकका प्रधानाध्यापक शिवकुमार साह र शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सव–इन्जिनियर विकास झाविरुद्ध सरकारी रकम अनियमितता गरेको सम्बन्धमा मुद्दा दायर भएको छ। प्रधानाध्यापक साहले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट ट्रस भवन मर्मतका लागि पाएको १७ लाख ६० हजार रकम हिनामिना गरेका थिए। उनले ५ लाख मात्रै भवन मर्मत उपभोक्ता समितिलाई दिएको अनुसन्धानबाट खुलेको छ। अख्तियारका अनुसार प्रअ साहले ११ लाख १० हजारको विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णय, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन एवं झुठ्ठा बिल भरपाई तयार गरी सो रकम शिक्षा विकास तथा समन्वय इकाई गोरखाबाट फछर्यौटसमेत गराएका थिए।

सव इन्जिनियर झाले शिवकुमार साहसँग मिलेमतो गरी ट्रस भवन मर्मतको रकम फरफारक गर्न झुठ्ठा कार्य सम्पन्न प्रतिवेदन तथा नापी किताब तयार गरी ११ लाख १० हजार हिनामिना गरेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस