
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी सातासम्म मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्ने भएको छ । हिजो बैंकर, व्यवसायीसँगको छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले उनीहरुले उठाएका जायज माग सम्वोधन हुने गरी मौद्रिक नीतिको समिक्षा गरिने आश्वासन दिएका थिए ।
बैंकरले उठाउँदै आएका बैंकाइन्स्योरेन्स बैंकले पनि गर्न पाउने व्यवस्था गरिनु पर्ने, स्प्रेडदर पुनरावलोकन, आम्दानी स्रोतको प्रमाणपत्र देखाएर मात्र ५० प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्थामा पुनरविचार गरिने आश्वासन अर्थमन्त्रीले डा. खतिवडाले दिएको हिजो छलफलमा सहभागीले एक बैंकरले बताए ।
यसैगरी, व्यवसायीले उठाउँदै आएका ऋणको ब्याजदर घटाउने, अटो लोनको सिमा ५० प्रतिशतबाट बढाउनु पर्नेलगायतका बिषयमा सम्बोधन गरिने भएको छ । लगानीकर्ताले पनि शेयर धितोको ब्याज घटाउनु पर्ने माग गर्दै आएका थिए ।
शेयर धितो कर्जामा लिइने कर्जाको ब्याजदर घटने संकेत देखिएपछि शेयर बजारमा उच्च अंकको सुधार आएको छ । अघिल्लो सातादेखि निरन्तर उकालो लाग्दै आएको नेप्से सोमबार एकैदिन ३४.२६ अंकले बढ्यो । नेप्से बढेर १३९८.२४ अंकमा पुगेको छ ।
शेयर बजार उकालो लाग्नुलाई लगानीकर्ताले शुभ संकेतको रुपमा लिएका छन् । नेप्से न्यूनतम अंकमा आएकाले पनि बढेको कतिपयको भनाइ छ । ११०० अंकको नजिक आइपुगेको नेप्से १४०० अंकको नजिक पुगेको छ । सूचीकृत कम्पनीको शेयर मूल्य कम भएकोले पनि लगानीकर्ताले शेयर खरिद गरिरहेका छन् ।
बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य पनि ज्यदै न्यून छ । बैंक तथा वित्तीय संस्थाको शेयर अहिले पनि ३ सय रुपैयाँमा पाइन्छ । बैंक तथा वित्तीय संस्थाको शेयर खरिद गर्न सकिएको खण्डमा छोटो समयमा उच्च नाफा गर्न सकिने भएकाले पनि लगानीकर्ता ऋण लिएर भएपनि शेयर खरिद गर्न पुग्दा बजार बढन पुगेको हुन् ।
केही बीमा कम्पनीले लाभांश घोषणा गर्ने अन्तिम तयारी गरिरहेकाले पनि शेयर बजार बढ्न पुगेको स्टक ब्रोकरहरु बताउँछन् । धेरैजसो बीमा कम्पनीले साधारणसभा अर्को महिना भित्र गर्दै छन् । ती कम्पनीको लाभांश बुक गर्नका लागि लगानीकर्ताले शेयर खरिद गर्न थालेकाले पनि बजार बढन पुगेको बिज्ञहरुको भनाइ छ ।
बीमा कम्पनीको लेखापरिक्षण प्रतिवेदन तयार पार्न समय लागेकाले पनि छिटो वार्षिक साधारणसभा गर्न सकिरहेका छैनन् । उनीहरुकोआर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको छ । तर, धेरै बीमा कम्पनीले पुस मसान्त भित्र वािर्षक साधारणसभा गर्न सकेनन् ।
बीमा कम्पनीहरुले दिने लाभांशको पखाईमा लगानीकर्ता छन् । बीमा कम्पनीको लाभांश बुक गर्न पनि ती कम्पनीको शेयर लगानीकर्ताले खरिद गरिरहेका छन् । यसैगरी, उच्च लाभांश वितरण गर्दै आएका लघुवित्तको शेयर पनि लगानीकर्ताले मूल्य घटेको समयमा खरिद गरिरहेका छन् । यसले पनि बजार बढन मदत पुगेको लगानीकर्ताको भनाइ छ ।
पछिल्लो समय नेप्से बढनुलाई पनि यही कारणका रुपमा लिइएको छ । शेयर बजारमा सुधारको संकेत देखिएको छ । शेयर बजार निरन्तर ओरालो लाग्दा निराश बनेका लगानीकर्तामा बजार उकालो लाग्ने संकेत देखिएसँगै खुशी छाएको छ ।
लगानीकर्ताको चेहरामा खुशीयाली छाएको छ । ब्रोकरको कार्यालयमा लगानीकर्ता चहल पहल बढेको छ । बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा दिने ऋणको ब्याज भएमा बजार अझै बढने अनुमान लगानीकर्ताले गरेका छन् । ब्रोकरहरुले शेयर धितोमा राखेर ऋण दिन सुरु गरेका छन् । सहज रुपमा कर्जा पाइने भएकाले पनि शेयर बजारमा बृद्धि देखिएको ब्रोकरको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस