
काठमाडौं । वाग्मती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने भीमफेदी–काठमाडौँ सुरुङमार्ग निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
मन्त्री फुयाँलले मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीले देखाएको सपना र वाग्मती प्रदेशका मुख्यमन्त्रीले तयार पारेको योजना पूरा गर्न आफू लागिपर्ने बताए । उनले प्रदेशका १३ वटा जिल्लाका ११९ वटै स्थानीय तहको विकासका लागि आफूले दिनरात नभनी काम गर्ने बताए। मन्त्री फुयाँलले भने, ‘‘अबको तीन महिनामा आफूले गरेको कामको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछु ।’’
उनले कर्मचारीतन्त्रलाई जनतामुखी बनाउन मुस्कानसहितको सेवाको अवधारणा पूर्णरुपमा कार्यान्वयन गरिने बताए । कर्मचारी क्षेत्रलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनको भनार्इ थियो । फुयाँलले पारदर्शिता र जवाफदेहीप्रति पूर्ण प्रतिवद्ध भएर अगाडि बढ्ने उल्लेख गरे । काठमाडौँ जिल्ला क्षेत्र नम्बर ३ तथा प्रदेशसभा “ख” बाट प्रदेश सभा सदस्यमा निर्वाचित फुयाँल यसअघि संविधानसभा सदस्य थिए ।
नेकपा बाग्मती प्रदेशका प्रमुख सचेतक समेत रहेका उनी लामो राजनीतिक यात्रापछि मन्त्री बनेका हुन् । विसं २०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका फुयाँल २०४१ सालमा तत्कालीन एमालेको सदस्य बने । विसं २०६५ सालमा सम्पन्न पार्टीको आठौ राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्यका रुपमा निर्वाचित भएका फुयाँल २०४९ र २०५४ सालमा काठमाडौँको आलापोट गाविसको अध्यक्ष, २०७० सालको संविधानसभाको चुनावमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस