aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोनाभाइरस सङक्रमण सुरू भएयताकै सबैभन्दा बृहत् निष्कर्ष सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ फागुन २०७६
कोरोनाभाइरस सङक्रमण सुरू भएयताकै सबैभन्दा बृहत्  निष्कर्ष सार्वजनिक

चीनका स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरस सङक्रमण सुरू भएयताकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष सार्वजनिक गरेका छन् जसमा ७०,००० भन्दा बढी कोभिड-१९ सङ्क्रमणका विवरणहरू समेटिएका छन्।

चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी सङ्क्रमणमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा वयोवृद्धमा बढी जोखिम देखाएको हो।उक्त अनुसन्धानले स्वास्थ्यकर्मीहरू पनि उच्च जोखिममा रहेको सङ्केत गर्छ।

मङ्गलवार वुहानमा उपचारका क्रममा एकजना अस्पताल निर्देशकको मृत्यु भएको थियो। ५१ वर्षीय लियो झामिङ उक्त सङ्क्रमणको केन्द्रमा रहेको एउटा प्रमुख अस्पतालका निर्देशक थिए।कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउने उनी हालसम्मका सबैभन्दा वरिष्ठ स्वास्थ्य अधिकारी हुन्।

वुहान भएको हुबे प्रान्तमा कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा खराब स्तरमा फैलिएको छ।चिनियाँ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले उक्त प्रान्तमा २.९ प्रतिशत मृत्युदर रहेको र अन्यत्र ०.४ प्रतिशत मात्रै मृत्युदर रहेको देखाएको छ।उक्त अध्ययनले समग्रमा कोभिड-१९ को मृत्युदर २.३ प्रतिशत रहेको जनाएको छ।

मङ्गलवार सार्वजनिक गरिएको चीनको पछिल्लो अधिकारिक तथ्याङ्कले ७२,४३६ सङ्क्रमणका घटनामा १,८६८ जनाले ज्यान गुमाएको जनाएको छ।अधिकारीहरूले त्यसमा ९८ वटा नयाँ मृत्युका घटनाहरू समेटिएको र अघिल्लो दिन सङ्क्रमणको केन्द्रमा रहेको हुबे प्रान्तमा १,८८६ वटा नयाँ घटना भेटिएको उल्लेख गरेका छन्।चिनियाँ अधिकारीहरूका अनुसार १२,००० भन्दा बढी मानिसहरूलाई निको भएको छ।

अध्ययनले के भन्छ?
सोमवार प्रकाशित तथ्याङ्क चीनको इपिडिमियोलोजीसम्बन्धी जर्नलमा प्रकाशित भएको हो।त्यसमा चीनभर फेब्रुअरी ११ सम्म पुष्‍टि भएका, शङ्का गरिएका र कुनै संङ्केत नदेखिएका तर कोभिड-९१९ पहिचान गरिएका सबै ७२,३१४ घटनाको विवरण उल्लेख गरिएको छ।

चीनमा कोरोनाभाइरसबाट ज्यान गुमाउने र बिरामी हुनेको सङ्ख्या ह्वात्तै बढ्यो
कोरोनाभाइरस प्रकोप अन्त्यको अनुमान गर्न निकै छिटो हुने उक्त अध्ययनले भाइरस र सङ्क्रमणको फैलावटबारे विगतकै व्याख्यालाई पुष्‍टि गरेको छ।अध्ययनमा ४४,६७२ वटा सङ्क्रमणका घटनाको विस्तृत विवरण समावेश छ।

उक्त अध्ययनका केही निष्कर्ष निम्न बमोजिम छन्

झन्डै ८०.९ प्रतिशत सङ्क्रमणलाई मध्यम भनेर वर्गीकरण गरिएको छ, १३.८ प्रतिशतलाई कडा र ४.७ प्रतिशतलाई संवेदनशील भनिएको छ।
८० वर्ष र त्यसभन्दा बढी उमेर भएका मानिसमा १४.८ प्रतिशतको उच्च मृत्युदर देखिएको छ।९ वर्षसम्मका बालबालिकाहरूको मृत्यु भएको छैन र ३९ वर्षको उमेरसम्ममा मृत्युदर ०.२ प्रतिशत रहेको छ।

त्यसमाथिका उमेर समूहमा भने मृत्युदर क्रमशस् बढ्दै गएको देखिएको छ। ४० देखि ४९ वर्षसम्मका मानिसमा मृत्युदर शून्य ०.४ प्रतिशत, ५० देखि ५९ सम्मका मानिसमा १.३ प्रतिशत, ६० देखि ६९ सम्मका व्यक्तिमा ३.६ प्रतिशत र ७० भन्दा माथिको उमेरमा आठ प्रतिशत जोखिम रहेको पाइएको छ।

लैङ्गिक अनुपातमा पुरुष ९२.८ प्रतिशत भन्दा महिला ९१.७ प्रतिशत० कम जोखिम रहेको पाइएको छ।बिरामीमा भइरहेका स्वास्थ्य प्रतिकूलताका सम्बन्धमा उक्त अध्ययनले मुटुसम्बन्धी बिरामी बढी जोखिममा रहेको देखाएको छ। त्यसपछि मधुमेह, श्वासप्रश्वासको दीर्घरोग भएका र उच्च रक्तचापका बिरामी बढी जोखिममा रहेको पाइएको छ।

उक्त अध्ययनमा हालसम्म ३,०१९ जना स्वास्थ्यकर्मीहरूमा सङ्क्रमण देखिएको र त्यसमध्ये फेब्रुअरी ११ सम्म पाँच जनाको ज्यान गएको उल्लेख छ।

यसले भविष्यका बारेमा के भन्छ?
उक्त अध्ययनले कोभिड९१९ को प्रकोप २३ देखि २६ जनवरीसम्म बढेको र त्यसपछि ११ फेब्रुअरीसम्म घटेको उल्लेख गरेको छ।उक्त अध्ययनले प्रकोप घट्नुका पछाडि कैयौँ सहरहरूलाई एकअर्कासँग सम्पर्कविच्छेद गरिनु, हात धुने, मास्क लगाउने र उपचार खोज्ने विषयमा एकभन्दा बढी माध्यमहरूबाट सूचना सम्प्रेषण गरिनु र कैयौँ निकाय सम्मिलिन द्रुत प्रतिकार्य टोलीलाई महामारी नियन्त्रणका लागि परिचालन गरिनुलाई उल्लेख गरेको छ।

तर अध्ययनकर्ताहरूले लामो बिदापछि मानिसहरू घर फर्किन थालेपछि चीनले थप तयारी गर्नुपर्ने बताएका छन्।चीनले उक्त सङ्क्रमणलाई नियन्त्रणमा लिन हुबेलाई अन्य ठाउँबाट सम्पर्कविच्छेद गराइएको र देशभर आवतजावतमा कडा प्रतिबन्धहरू लागु गरेको थियो।

स्रोत: बिबिसी (नेपाली)

प्रतिक्रिया दिनुहोस