काठमाडौं । कुखुराका चल्ला नष्ट गरी मासुको मूल्य बढाएको विषयमा अनुगमन नगरेको भन्दै व्यवसायीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा धर्ना दिएका छन् । कुखुरा व्यवसायीले सरकार नै व्यापारी र उद्योगीसँग मिलेर यसको अनुगमन नगरेको लिखित आरोप लगाएका छन् ।
मंगलवार विभागमा धर्ना दिँदै ‘राष्ट्रिय कुखुरा पालक संघर्ष समिति’ले अनुगमनमा चासो नदिएको आरोप लगाएको छ । बजारको मागभन्दा कुखुराको उत्पादन बढी भएको भन्दै गत पुस महीनामा नेपाल ह्याचरी व्यवसायी संघले रू. १५ करोड बराबरको ३० करोड चल्ला नष्ट गरेको थियो । मूल्य समायोजन गर्ने भन्दै चल्ला नष्ट गरिएपछि उद्योगीले चल्ला र दानाको मूल्य बढाएको आरोप किसानको छ । चल्ला र दानाको मूल्य बढेपछि व्यवसाय नै धरापमा परेको संघर्ष समितिका अध्यक्ष विष्णु खड्काले बताए । माघ दोस्रो सातादेखि दाना उद्योगीले दानाको मूल्य करीब दोब्बरले बढाएको समितिले बतायो । समितिका अनुसार माघ दोस्रो साता प्रतिकिलो दानाको मूल्य रू. ४० बाट बढाएर रू. ७० पु¥याइएको छ ।
उद्योगीले किसानबाट उत्पादन लागतभन्दा सस्तो मूल्यमा कुखुरा उठाएर बजारमा मूल्य वृद्धि गरेको आरोप उनीहरूको छ । समितिका अनुसार हाल एउटा कुखुरा उत्पादन गर्न करीब रू. २२६ लाग्ने गर्दछ । तर कोल्ड स्टोरले रू. २३० देखि रू. २४० मा कुखुरा उठाउने गरेको र मूल्यवृद्धि गर्ने गरेको किसानले बताएका छन् । किसानले उत्पादन अनुसारको मूल्य नपाएको र उपभोक्ताले पनि बढी मूल्य तिर्नुपरेको समितिले बताएको छ ।
समितिले गत माघ २० गते सरकारलाई लिखित रूपमा कालोबजारी गर्नेलाई कारबाही गर्न पत्र लेखे पनि हालसम्म सरकारले त्यसमा अनुगमन र कारबाही नगरेको बताएको छ । त्यसपछि विभागमै धर्ना दिन बाध्य भएको बताउँदै समितिले विभागमा १० बुँदे मागपत्र बुझाएको छ । उनीहरूले दाना र चल्लाको मूल्य घटाउनुपर्ने र नियमित त्यसको अनुगमन हुनुपर्ने माग राखेका छन् ।
तर मूल्य वृद्धिको विषयमा अनुगमन गरिएको र यसको विस्तृत अध्ययन गरी कारबाही गर्ने तयारी समेत भएको विभागले बताएको छ । किसानले उद्योगीसँग सरकारको साँठगाँठ रहेको आरोप लगाएकोप्रति आपत्ति व्यक्त गर्दै यस घटनाको छानबिनको काम अघि बढिसकेको विभागको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस