काठमाडौं । चीनको वुहान शहरबाट फैलिएको कोभिड–१९ (कोरोना भाइरस) बाट नेपालको जनस्वास्थ्यमा हालसम्म असर नपरे पनि मुलुकका ठूला पूर्वाधार आयोजनाहरू भने यसबाट नराम्ररी प्रभावित हुन पुगेका छन् ।
सरकारी र निजीक्षेत्रका पूर्वाधार आयोजनामा संलग्न चिनियाँ कामदार र ती आयोजनाका लागि आवश्यक उपकरण नेपाल आउन नसक्दा विमानस्थलदेखि जलविद्युत् आयोजनासम्मका काम पछाडि धकेलिने देखिएको छ ।
नेपालका अधिकांश पूर्वाधार निर्माण (सडकदेखि जलविद्युत्सम्म) मा चिनियाँ निर्माण कम्पनीको उल्लेख्य सहभागिता छ । यी निर्माण कम्पनीहरूले पछिल्लो समय आफ्ना आयोजनाहरूमा चिनियाँ कामदारहरूलाई काममा लगाउँदै आएका छन् ।
तर, चिनियाँ नयाँ वर्ष मनाउन चीन पुगेका ती कामदार कोभिड–१९ का कारण नेपाल आउन नपाउँदा दुई राष्ट्रिय गौरवका आयोजना, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुने अवधि लम्बिएको छ ।
पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार डिसेम्बर २०२० सम्ममा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोभिड–१९ का कारण आयोजनाको कार्यतालिका नै प्रभावित भएको छ । अहिले यो आयोजनामा १८० जना चिनियाँँ कामदार संलग्न छन् । ‘चीनमा नयाँ वर्ष मनाउन ४० जना कामदार गएका थिए,’ उनले बताए, ‘त्यसमध्ये पुराना २० र नयाँ थप ८० जना गरी १०० भन्दा बढी कामदार चीनबाट आउनुपर्ने हो । तर, अहिले न पुराना कामदार नै फर्किएका छन्, न नयाँ नै आउन पाएका छन् ।’
तत्काल आयोजनाको काम अघि बढाउन आंशिक प्रभाव परेको र यो क्रम जारी रहे समयतालिका नै परिवर्तन गरी दिनरात खटेर काम गर्नुपर्ने बाध्यता आउने मुनकर्मीले बताए । हालसम्म ५५ प्रतिशत काम सम्पन्न भएको यस आयोजनामा अहिले टर्मिनल भवन, पर्खाल, धावनमार्ग, सडक कालोपत्र गर्ने र पार्किङलगायत काम प्रभावित भएका छन् ।
भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल आयोजनाले मार्च अन्तिम अर्थात् मध्य चैतमा विमानस्थलका सबै काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो । आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार अहिले विमानस्थलमा प्राविधिक जनशक्ति बढी आवतजावत हुनुपर्ने समय हो तर कामदार चीनमै रोकिँदा र चीनबाट आउनुपर्ने उपकरण पनि नआउँदा काम रोकिएको छ । विमानस्थल निर्माणमा झन्डै ४० जना चिनियाँ कामदार रहेकोमा दुई दर्जनजति पनि कार्यस्थलमा छैनन् । ‘टर्मिनल भवन र धावनमार्गमा जडान हुने लाइट तथा अन्य उपकरणसहित प्राविधिकहरू चीनबाट आएका छैनन्,’ अधिकारीले भने, ‘यसले आयोजना निर्माण अवधि केही पर सर्ने जस्तो देखिएको छ । यद्यपि चीनमा यो रोग कति छिटो नियन्त्रणमा आउँछ र नेपाल–चीन उडान कहिलेबाट नियमित हुन्छ भन्ने विषयले आयोजनाको काम कति पर लम्बिन्छ भन्ने निक्र्यौल गर्नेछ ।
चिनियाँ ठेकेदार तथा कम्पनीमार्पmत नै अघि बढेका सडकका विभिन्न आयोजना पनि प्रभावित भएका छन् । ११३ किलोमीटर (किमी) लामो नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा पनि चिनियाँँ ठेकेदार र कामदार संलग्न छन् । त्यस्तै, गल्छी–मैलुङ–स्याफ्रुबेंशी–रसुवागढी सडक र दोस्रो चरणको चक्रपथ विस्तार प्रभावित बनेको आयोजना प्रमुखहरू बताउँछन् ।
गल्छी–मैलुङ–स्याफ्रुबेंशी–रसुवागढी सडक विस्तार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले अहिले काम ठप्प भएको बताए । ‘अक्टोबरदेखि सडक विस्तार तथा निर्माणको काम शुरू गर्ने भनिएको थियो र त्यसका लागि ५१ जना चिनियाँँ कामदारको भिसा पठाउन सम्बद्ध कम्पनीका प्रमुखले सूचना पठाएका थिए,’ उनले भने । तर, कोभिड–१९ का कारण ती कामदार चीनमै रहेको जानकारी आफूलाई आएको उनले बताए । ३९ महीनामा सडक बनाइसक्ने भन्दै भदौमा सडक विभाग र चिनियाँ कम्पनीबीच सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस