काठमाडौं । सरकारले १५ वर्षपछि नयाँ राष्ट्रिय हवाई नीति तयार गरेको छ । नयाँ हवाई नीति तयार पार्न गठित कार्यदलले ‘राष्ट्रिय हवाई नीति २०७६’ को मस्यौदा बुधवार पर्यटन मन्त्रीलाई हस्तान्तरण गरेको छ । नयाँ नीतिले नागरिक उड्डयन क्षेत्रलाई प्रोत्साहित गरी निजीक्षेत्रको समेत सहभागितामा मुलुकको सामाजिक, आर्थिक विकासमा योगदान गर्न सक्ने तुल्याउने लक्ष्य लिएको छ । यस्तै नयाँ नीतिमा राष्ट्रिय हितलाई दृष्टिगत गरी विद्यमान उदार आकाश नीतिलाई प्रवर्द्धन गर्ने, अन्तरराष्ट्रिय उडान गर्ने विदेशी वायुयानबाट नेपालको वायुक्षेत्र एयर स्पेशको अधिकतम प्रयोग हुने व्यवस्था मिलाइने उल्लेख छ ।
सरकारले बदलिँदो परिवेशअनुसार नयाँ हवाई नीति बनाउन नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक तथा मन्त्रालयका पूर्वसचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा सात सदस्यीय मस्यौदा कार्यदल गठन गरेको थियो । राष्ट्रिय हवाई नीति २०५० लाई १३ वर्षपछि परिमार्जन गरी हवाई नीति, २०६३ लागू भएको थियो । अहिले १५ वर्षपछि नयाँ नीतिको मस्यौदा तयार पारिएको छ ।
नीतिको मस्यौदामा नेपालीले पहिलोपटक निजी जहाज राख्न पाउने व्यवस्था गरिएको छ । यो नीति लागू भएपछि कुनै व्यक्ति वा व्यावसायिक घरानाले जहाज खरीद गरेर आफ्नै घरमा वा विमानस्थलमा राख्न पाउने छन् । व्यक्तिगत प्रयोजनका लागि राखिने जहाज सिंगल इन्जिनको हुनुपर्ने व्यवस्था छ । व्यावसायिक उडानमा भने सिंगल इन्जिनबाट उडान गर्न नपाइने व्यवस्था मस्यौदामा उल्लेख छ ।
यस्तै नीतिमा नयाँ विमान कम्पनी दर्ता गर्दा आवश्यकता र बजारको माग, लगानी र आम्दानीको गहन विश्लेषणका आधारमा मात्रै गरिने उल्लेख छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सञ्चालनको आधार बनाउँदै आएका विमान कम्पनीलाई अब भने नयाँ नियमन लागू हुने भएको छ । सञ्चालनमा रहेका विमान कम्पनीहरूले अब नयाँ विमान किन्दा त्यसको सञ्चालन आधार काठमाडौं बाहिरका विमानस्थललाई बनाउनुपर्नेछ । अहिले अधिकांश विमान कम्पनीले काठमाडौंलाई सञ्चालनको आधार बनाउँदै आएका छन् । त्यस्तै, नयाँ विमान कम्पनी आउँदासमेत काठमाडौं बाहिरबाट सेवा सञ्चालन गर्नुपर्नेछ ।
नयाँ नीतिले विमान कम्पनी मर्ज तथा एक्वीजिशनमा जान सक्ने बाटो खुला गरिएको छ । ‘अस्वस्थ प्रतिस्पर्धाका कारण वायुसेवा संस्थालाई पलायन हुन नदिई क्षमता तथा पूँजी लगानीको आधारमा दिगो सञ्चालन सुनिश्चित गर्न वायुसेवा कम्पनीहरू एकआपसमा गाभिने र प्राप्ति गर्ने क्रियाकलापलाई प्रोत्साहित गरिनेछ,’ नयाँ नीतिको मस्यौदा भनिएको छ ।
यस्तै विमान कम्पनी सञ्चालन गर्न कम्तीमा तीनओटा विमान हुनैपर्ने व्यवस्था गरिएको छ । नयाँ नीतिले विमानस्थललाई अन्तरराष्ट्रिय, क्षेत्रीय अन्तरराष्ट्रिय, आन्तरिक हब, सर्ट टेक अफ एन्ड ल्यान्डिङ (स्टुल) विमानस्थल र हेलिप्याड÷हेलिपोर्ट गरी ५ प्रकारमा विभाजन गरेको छ । हाल काठमाडौं केन्द्रित उडानलाई अन्तरप्रदेश सञ्जालीकृत उडानका रूपमा विकास गर्न प्रोत्साहनमूलक कार्यक्रम ल्याइने मस्यौदामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस