विराटनगर । विराट एक्स्पोमा दिनदिनै अवलोकनकर्ताको भीड बढ्दै गएको छ । बुधवार एक्स्पोमा ३५ हजार बढीले अवलोकन गरेका छन् भने रू. ७ करोडभन्दा बढीको कारोबार भएको आयोजकले बताएको छ । ६ दिनदेखि जारी एक्स्पोमा अहिलेसम्म १ लाख ४५ हजारभन्दा बढीले अवलोकन गरेका छन् भने रू. २६ करोडभन्दा बढीको कारोबार भइसकेको छ ।
एक्स्पोका प्रचारप्रसार संयोजक नन्दकिशोर राठीका अनुसार दैनिक विभिन्न कलाकारले सांगीतिक माहोल बनाउने क्रममा बिहीवार गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको प्रस्तुति रहनेछ ।
नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला फागुन १० गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशका साथै सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई २५ रुपैया“ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । ३४० ओटा स्टल रहेको एक्स्पोमा राखिएको खानाका स्टलले उपभोक्तालाई आकर्षित गरेको छ ।
विशेषगरी नयाँ खालका खानाका परिकारले उपभोक्तालाई लोभ्याउने गरेको हो । एक्स्पोमा चटपटे, पुच्काजस्ता परिकारको पनि उत्तिकै माग रहेको व्यापारीहरू बताउँछन् । उपभोक्ताले चाउमिन, चाट, समोसा, लस्सी, आइसक्रिम पनि धेरै रुचाउने गरेको व्यवसायी लोकेन्द्र भगतले बताए ।
उपभोक्ताले मःम, डोसा, जेरी पाउभाजी लगायत परिकार पनि रुचाउने गरेका छन् । यस्तै एक्स्पोमा कुखुराको मासुबाट बनेको भिन्दै खालका परिकारमा उपभोक्ताको विशेष आकर्षण देखिएको छ । विराटनगरका परशुराम गिरिले राखेको स्टलको चिकेन रोलमा उपभोक्ताको अत्यधिक आकर्षण देखिएको छ । विदेशतिर सावर भनेर चिनिने चिकन रोलमा उपभोक्ताले धेरै रुचि देखाएपछि उत्साहित बनेका गिरिले विराटनगरमै होटल सञ्चालनको सोचसमेत बनाएको बताए ।
मेलाको अर्को आकर्षण हेलिकप्टर सेवा हो । हेलिकप्टरबाट विराटनगर बजारको दृश्यावलोकन गर्ने धेरै छन् । होराइजन होलिडेले हेलिकोप्टरको व्यवस्थापन गरेको छ । उसले मेलाबाट पाथीभरा दर्शनको रू. ५० हजार, हलेसी दर्शनको रू. ४५ हजार र विराटनगर बजार दृश्यावलोकनको रू. ७ हजार ५०० शुल्क तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस