aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अख्तियारले थाल्यो अध्ययन, बाँस्कोटाको कार्यकक्षमा छापा

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शुक्रबार, ०९ फागुन २०७६
अख्तियारले थाल्यो अध्ययन, बाँस्कोटाको कार्यकक्षमा छापा

काठमाडौं। राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा बिहीबार साँझ छापा मारिएको छ। मन्त्रालयमा पुगेका सादा पोसाकमा सुरक्षाकर्मीले बाँस्कोटाको निजी सचिवालयका कागजपत्र नियन्त्रणमा लिएको छ। यस्तै मन्त्रीले प्रयोग गरेको दराजमा रहेका कागजपत्र सिलबन्दी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले बतायो।

बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियोका विषयमा अध्ययन थालेको हो। अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले सञ्चारमाध्यममा आएका विषयमाथि अध्ययन सुरु गरिएको जानकारी दिए। ‘सञ्चारमाध्यममा आएका विषय अध्ययन गर्ने र हेर्ने काम गरिरहेका छौं,’ उनले भने। अध्ययनपछि मात्रै अनुसन्धान हुनेछ। अनुसन्धानका विषयमा भने निर्णय भइनसकेको उनले बताए।

अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले कमिसन मागेको अडियो सार्वजनिक भएपछि छानबिन अघि बढाउन उजुरी कुर्न नपर्ने बताए। उनले भने, ‘अडियो सार्वजनिक भइसकेपछि उजुरी पर्नु पर्दैन। अख्तियारले यसैलाई आधार बनाएर छानबिन अघि बढाउन सक्छ।’ उनले अडियोको प्रमाणीकरण भने गर्नुपर्ने बताए। उनले कमिसनको ‘डिल’ गर्ने एजेन्ट विजयप्रकाश मि श्रलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने बताए। उपाध्यायले बाँस्कोटाको मन्त्री भएपछिको परिवर्तनका आधारमा उनको सम्पत्ति छानबिन गर्न सुझाव दिए।

प्रतिक्रिया दिनुहोस