aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

गैँडा मर्नेक्रम बढेपछि नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै

  • रासस
    रासस
  • शुक्रबार, ०९ फागुन २०७६
गैँडा मर्नेक्रम बढेपछि नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै

चितवन । प्राकृतिक कारणले दुर्लभ एकसिङ्गे गैँडा मर्नेक्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनमा विशेष जोड दिएको छ । चालु आर्थिक वर्षमा ६०० हेक्टर नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए । 

उनका अनुसार निकुञ्जले घाँसे मैदान व्यवस्थापनलाई उच्च प्राथमिकता दिँदै रु तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । तीमध्ये नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न रु तीन करोड र पुरानो १०० हेक्टरमा रु ५० लाख बजेट विनियोजन गरिएको छ । यसका लागि बोलपत्र आह्वान भइसकेको छ । ठेकेदार कम्पनीले रु एक करोड ८७ लाखमा सबै काम गर्नका लागि ठेक्का स्वीकारेको र केही दिनभित्र काम शुरुआत हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए । 

नयाँ ५५ र पुरानो १५ स्थानमा घाँसे मैदान व्यवस्थापन गरिँदै छ । निकुञ्जको कूल क्षेत्रफलको १० प्रतिशत हाराहारी घाँसे मैदान रहेको अनुमान छ । प्रमुख संरक्षण अधिकृत रुपाखेतीले अहिलेसम्मकै बढी रकम घाँसे मैदान व्यवस्थापन गर्नका लागि  निकासा भएको जानकारी दिए । गत वर्ष रु १९ लाख मात्रै घाँसे मैदान व्यवस्थापन गर्न बजेट विनियोजन भएको थियो । 

उनका अनुसार यस वर्षबाट आगो लगाउन बन्द गरेर औजार उपकरण प्रयोग गरेर घाँसे मैदान व्यवस्थापन गरिने भएको छ । यसका लागि उपकरणसमेत झिकाएर परीक्षण गर्ने काम भइरहेको छ । आउँदो तीन वर्षभित्र एक हजार ५०० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गर्ने तयारी निकुञ्जले जनाएको छ । 
 
चालु आवमा ४९  पोखरीको मर्मतसम्हार, निर्माण र व्यवस्थापन गरिने कार्यक्रम  छ । दुर्लभ एकसिङ्गे गैँडा प्राकृतिक कारणले मर्ने क्रम बढेपछि निकुञ्ज विभागले घाँसे मैदान र पानीका स्रोत व्यवस्थापनमा विशेष जोड दिएको हो ।
 
गत आर्थिक वर्षमा निकुञ्जमा ४३  गैँडा प्राकृतिक कारणले मरेका थिए । यस वर्ष हालसम्म निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा १८ वटा गैँडा प्राकृतिक कारणले मरिसकेका छन् ।
 
निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै गैँडा  भए पनि घाँसे मैदान र पानीका स्रोत कम भएपछि तिननको खोजीमा भौतारिएका गैँडा धेरै मरेको अनुमान छ । दुई वर्षअघि आएको बाढीका कारण बगाएर धेरै गैँडा पश्चिम क्षेत्रमा पुगेका थिए ।
 
चैत महिनामा गैँडा गणनासमेत गरिँदै छ । पछिल्लो गणनानुसार निकुञ्जमा ६०५ गैँडा  छन् । पछिल्ला वर्षमा शिकारीका कारण भने गैँडा मरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस