aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेकपाका नेता सत्तामा गएपछि विचलित भए, राम्रो संकेत देखिएनः प्रचण्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ फागुन २०७६
नेकपाका नेता सत्तामा गएपछि विचलित भए, राम्रो संकेत देखिएनः प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका नेता सत्तामा गएपछि विचलित भएको बताएका छन् । नारायणगोपाल जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । 

सोभियत संघ र पूर्वी युरोपमा कम्युनिस्ट सत्ता कसरी पतन भयो भन्ने उल्लेख गर्दै उनले भने, ‘अहिले भइसक्यो भनेको होइन । मेरो भनाइलाई बढी नबुझियोस् । तर संकेत त त्यति राम्रो देखिएनन् नि आजभोलि । यसो घटना हेर्‍यो मान्छेहरु त बिग्रिने बिग्रिनेतिर जस्तो देखिएको उनले बताए । 

कम्युनिस्टहरुले नभएको सत्ता प्राप्त गर्न सक्ने तर सत्तामा पुगेपछि आदर्शबाट विचलित भएका विश्व इतिहास रहेको भन्दै उनले नेपालमा पनि राम्रो संकेत नदेखिएको बताए ।

‘सत्तामा नहुँदा, आन्दोलन र क्रान्तिमा हुँदा निकै ठुलो त्याग, तपस्या र बलिदान गर्नसक्ने, जनतासँग घुलमिल हुनसक्ने जनता जहाँबस्छन् त्यहीँ, जे खान्छन् त्यहीँ खाने, जनता जसरी काम गर्छन त्यसरी नै काम गरेर जनताको मन जित्न सक्ने र नभएको सत्ता प्राप्त गर्न सक्ने कम्युनिस्ट पार्टी हुन् । तर, सत्ता प्राप्त गरिसकेपछि कही न कहीँ त्यो अदर्शबाट विचलित हुने गरेका घट्ना विश्व इतिहासमा पनि छन् । नेपालको इतिहासमा पनि त्यस्ता संकेत लक्ष्णहरु देखिने गरेका छन्’, अध्यक्ष प्रचण्डले गोकुल बाँस्कोटातर्फ संकेत गर्दै भने, ‘सत्तामा गइसकेपछि, पद, प्रतिष्ठा, लोभ, लालचा, बिकृति, विसंगति र भ्रटाचारजन्य क्रियाकलापहरु देखिने गरेका छन् ।’

हिजो मृत्युलाई सामना गरेर जस्तोसुकै त्याग र तपस्या गर्न तयार हुने, प्रतिकृयावादीका जेलनेल र मृत्युलाईपनि हाँसीहाँसी सामना गर्नसक्ने मान्छेहरु शासन हातमा आइसकेपछि विस्तारै अर्कैअर्कै र जनताबाट कटेको जस्तो हुने गरेको प्रचण्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस