काठमाडाैं । नेकपा बैठकमा दिवंगत नेताका नाममा खोलिएका प्रतिष्ठान गुटबन्दीको अखडा बनेको कुरा चर्काे रूपमा उठ्यो। पार्टी एकताको २१ महिनासम्म ‘जनवादको प्रयोग’ गर्न नपाएका केन्द्रीय सदस्यहरूले ‘गुटबन्दीले पार्टीलाई खाएको’ भन्दै चिन्ता व्यक्त गरे।
अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिवको संगठनात्मक र विधान संशोधनसम्बन्धी प्रस्तावमा समूहगत छलफल गरी निष्कर्ष सुनाउने सबैजसो समूह नेताको सामूहिक निष्कर्ष थियो, ‘पार्टी नेताका नाममा खोलिएका संघ–सस्था र प्रतिष्ठानले पार्टीमा गुटबन्दी झाँगियो।’
त्यस्ता प्रतिष्ठानहरू कि पार्टीले व्यवस्थित गरी एउटा नीतिभित्र चलाउनुपर्ने कि बन्द नै गर्नुपर्ने आवाज धेरैले उठाए पनि। अधिकांश प्रतिष्ठान, अध्ययन केन्द्र या फाउन्डेसनका नाममा खोलिएका संस्था ‘गुटका घर’ भएको निष्कर्ष समूह नेताहरूले पार्टी नेतृत्वकै सामुन्ने प्रस्तुत गरे।
नेताहरूले केन्द्रीय समिति बैठक समापन गर्दा यो विषयमा सम्बोधन नै गरेनन्। केन्द्रीय सदस्य युवराज चौलागाईं भन्छन्, ‘विषय बैठकमा सबैजसो समूह नेताहरूले उठाउनुभयो, तर नेताका नामका प्रतिष्ठानमार्फत मौलाइरहेको गुटबन्दीको जवाफ पार्टी नेताहरूले दिनु भएन।’
पार्टी अध्यक्षद्वय (केपी ओली र पुष्पकमल दाहाल) कै राजनीतिक दस्ताबेजमा पार्टी संस्थागत नभएको, बरु विभिन्न प्रकारका गुटहरू सक्रिय रहेको र पार्टी अनुशासनको स्तर दयनीय बन्दै जान थालेको उल्लेख हुँदासमेत नेताहरूले समूह नेताहरूले उठाएको ‘प्रतिष्ठान गुटका घर’ का विषयमा कुनै जवाफ दिन चाहेनन्।
प्रतिक्रिया दिनुहोस