काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको अवकाश नजिकिँदै गर्दा भावी नेतृत्वमा आउने दौड सुरु भएको छ । डा.नेपाल ७ चैतबाट बिदा हुँदै छन्। एक महिनाअघि बिदा बस्ने सामान्य प्रचलन भए पनि उनी अहिलेसम्म बिदा बसेका छैनन् ।
उनको ठाउँमा ५ वर्ष राष्ट्र बैंकको नेतृत्व गर्न दौडधूप चर्किएको हो। यस्तो दौडमा अर्थ मन्त्रालयबाट भर्खरै अवकाश पाएका पूर्वसचिव डा.राजन खनाल र राष्ट्र बैंककै सञ्चालक डा.सुवोधकुमार कर्ण सबैभन्दा अघि रहेको सम्बद्ध स्रोतले बताएको छ। ‘बाहिर हल्ला नगर्ने तर भित्रभित्रै निकै मेहनतमा उहाँहरू दुई जना लाग्नुभएको छ’, प्रधानमन्त्री कार्यालयसम्बद्ध स्रोतले भन्यो।
राष्ट्र बैंकको गभर्नरको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ। बहालवाल अर्थमन्त्रीको संयोजकत्वमा गठन हुने तीन सदस्यीय समितिको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्ने भएकाले प्रधानमन्त्रीको निर्णय नै सर्वमान्य हुन्छ। त्यसैकारण गभर्नरका दाबेदार सीधै प्रधानमन्त्रीसम्म पहुँच स्थापित गर्न खोज्छन्। भर्खरैमात्र निजामती सेवाबाट बाहिरिएका पूर्वसचिव खनाल पनि गत महिनासम्म राष्ट्र बैंकको सञ्चालक थिए।
अर्थसचिव राष्ट्र बैंकमा पदेन सदस्य हुने व्यवस्थाबमोजिम उनी केन्द्रीय बैंकको सञ्चालक समितिमा रहँदै आएका थिए। राजस्वको ‘क्याडर’का रूपमा अर्थ मन्त्रालयको सचिव पद सम्हाले खनाल अवकाश पाउनु अघिदेखि नै गभर्नरको दौडमा रहेको समाचार स्रतले बताएको छन्।
प्रतिक्रिया दिनुहोस