
काठमाडौं । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।
७० कुरोडको कमिसनको अडियो प्रकारणपछि सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले राजिनामा दिएपछि रिक्त रहेको यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले डा. खतिवडालाई तोकिदिएकी हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी पाएका अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी स्रोतबाट सञ्चालित मिडियाका नजरमा सञ्चारमन्त्रीमात्र मन्त्री हुन नहुने बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै खतिवडाले सरकारी स्रोतबाट संचालन हुने सार्वजनिक सञ्चारमाध्यमका लागि जनतादेखि सरकारसम्मका सबै पक्ष उत्तिकै महत्वपूर्ण हुने बताए ।
‘सरकारी स्रोतबाट चल्ने सञ्चार माध्यम भनेको सञ्चारमन्त्रीको मात्र माध्यम होइन । सामान्य जनतादेखि समग्र राज्यको हो। त्यसैले तपाईहरुले दिने सूचनाले सबैलाई उत्तिकै लाभ पुर्याएको हुनुपर्छ’ खतिवडाले भने ।
खतिवडाले सरकारी स्रोतमा मात्र निर्भर भएका माध्यमले थप मेहनत गरेर आफ्नो स्वायत्तता र राज्यप्रतिको उत्तरदायित्व बढाउनका लागि थप सिर्जनशील हुनुपर्ने बताए ।
‘कुनै समय सूचनाको स्रोत नभएका बेला सरकार आफैले लगानी गरेर खडा भएका माध्यमले देशका कुनाकन्दारासम्म सूचना पुर्याउने काम गर्यो। तर अहिले निजी क्षेत्र शसक्त रुपमा आएको छ। यस्तोमा सार्वजनिक माध्यमले थप मेहनत गर्नुपर्ने बेला भएको छ। एकातिर निजी क्षेत्रसँग प्रतिपस्पर्धा गर्नलाई गुणस्तरमा ध्यान दिने, अर्कोतिर आत्मनिर्भर हुने’ उनले भने ।
खतिवडाले सरकारी माध्यम भएकै कारण सरकारको गुनगान गाउनुपर्छ भन्नेमा सरकार नरहेको बताए ।
‘सार्वजनिक माध्यम भएकाले तपाइहरुले सरकारको गुनगान गाउनुपर्छ भन्ने छैन । भएको जे हो राम्रो, नराम्रो जे भएपनि जस्ताको तस्तै जनतासम्म पुर्याएपछि पुग्छ, यतिमात्र गरिदए हुन्छ’ उनले भने ।
प्रधानमन्त्री र राष्ट्रपतिले आफूलाई गहन जिम्मेवारी दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ । संविधानले सुनिश्चितता गरेको प्रेस स्वतन्त्रलाई सम्मान गर्ने भन्दै उनले प्रेस स्वतन्त्र र निर्भिक हुनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गरे । राज्यको पुनर्संरचना गर्ने समय भएका कारण सरकार गठन भएको दुई वर्ष अघिल्लो दुई वर्षहरुभन्दा फरक रहेको भन्दै यस समयमा धेरै काम भएको डा. खतिवडाले बताएका छन् ।
दुई वर्षको अवधि राज्य प्रणालीको परिवर्तनका लागि लामो समय नभएको उनको भनाइ छ । यसबीचमा भएका कामलाई सजिलै सम्पन्न नभएको उनले उल्लेख गरे । दोस्रो वर्षमा आइपुग्दा अन्यौल र द्विविधा धेरै हदसम्म हटेको उनको भनाइ छ । संघीयतामा गएपछि व्यवसायिक वातावरण, द्वन्द्व, प्राकिृतिक स्रोतको द्वन्द्व हुन्छ कि भन्ने अन्यौल हटेको उनको भनाइ छ ।
अब पाएको अवसर गरिबी अन्त्य, समावेशी विकास गर्दै मुलुक समृद्ध बनाउनेतर्फ सरकारको ध्यान जाने उनले बताए ।
प्रतिक्रिया दिनुहोस