काठमाडौं । अहिलेसम्मको विश्व आर्थिक परिदृश्य हेर्दा सबै प्रकारको अर्थप्रणालीमा भ्रष्टाचार हुने गरेको छ । सामन्तले भ्रष्टाचार गरेकाले, राजतन्त्र बन्यो, त्यो गतिहीन भएपछि प्रजातन्त्र र त्यो पनि भ्रष्ट भएपछि जन्मिएको गणतन्त्रले पनि संख्या बलमा भ्रष्टाचार गर्ने गरेको छ । बेलायती इतिहासविद् जोन एक्टनको भनाइको पनि यस्तै आशय पाइन्छ ।
संशोधित अल्पक्रान्तिकारी राजनीतिज्ञले जहिले पनि देखावटी रूपमा काम गर्छ, जसलाई नौनी लुकाउन नौटंकीको राजनीति भनिन्छ । यसो गरियो, उसो गरियो भनेर जनतालाई नौटंकीमा भुलाएर नौनी जति आफूले लुकेर खानु नै नवोदित क्रान्तिकारिताको स्वरूप हो ।
भ्रष्टाचारका विभिन्न रूप हुन्छन् जसमा प्राप्त अख्तियारको दुरुपयोग गरेर, नगद जम्मा पारिन्छ, कसैले अन्यायपूर्ण तरीकाले लाभ पुर्याएर उसबाट अनेक कोसेली वा सुविधा लिइन्छ । जग्गा सस्तोमा प्राप्त गर्ने, घर बनाउँदा निर्माण सामग्री निःशुल्क प्राप्त गर्ने, छोराछोरीलाई राम्रो स्कूलमा भर्ना गराउने, छोराछोरीलाई विदेश पढ्न पठाउने वातावरण मिलाउने, सीधै कमिशन लिने आदि सबै घटनाहरूलाई भ्रष्टाचार हुन् ।
भ्रष्टाचार गर्नु अख्तियारवालाको दरिद्र स्वभाव हो जुन हटाउन ज्यादै कठिन हुन्छ । पूर्ण शक्तिमा पुगेर पनि भ्रष्टाचार नगरेको उदाहरण अमेरिकामा मात्र देखिएको छ । जहाँ अहिलेसम्म कुनै राष्ट्रपति आर्थिक भ्रष्टाचारमा कारबाहीमा परेको छैन । नेपालमा पनि कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र सुशील कोइरालाले कमिशन खाए भन्ने कतै लेखेको देखिएको छैन ।
भ्रष्टाचार गर्दिनँ भन्ने चाहना राख्दाराख्दै पनि राजनीतिज्ञ, कर्मचारी सबै कतै न कतैबाट घेरिन्छन् । पद सधैं प्राप्त हुँदैन, पद बाहिर रहँदा पनि, खान बस्न, गाडीमा जहाजमा हिँड्नु नै पर्यो, घर खर्च चलाउनु नै पर्ने हुन्छ । यो सबै गर्न व्यवसायी, ठेकेदार, व्यापारी, हुन्डी कारोबारी, जग्गा दलाल आदिले सहयोग गरेका हुन्छन् । पदमा पुगेपछि उनीहरूको गुण तिर्दा तिर्दै एउटा सज्जन भ्रष्टाचारी भइसकेको हुन्छ । त्यसपछि शुरू हुन्छ नौनी लुकाउने नौटंकी ।
प्रतिक्रिया दिनुहोस