विराटनगर । विराटनगरमा आयोजित विराट एक्स्पो २०७६ समापन भएको छ । लक्ष्यअनुसारको १ अर्ब बढीको कारोबार गर्दै एक्स्पो सम्पन्न भएको हो । गएको फागुन २ गतेदेखि सुरु भएको कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी शनिवारबाट समापन भएको हो ।
उद्योग सङ्गठन मोरङको आयोजना र प्रदेश सरकारको प्रवर्द्धनमा आयोजित ९ दिने अन्तर्राष्ट्रिय प्रदर्शनीको अवधिमा लक्ष्यअनुसारको १ अर्बको कारोबार भएको आयोजकले जनाएको छ । एक्स्पोका संयोजक भोलेश्वर दुलालले प्रदर्शनी अवधिमा ३लाख २५ हजार व्यक्तिले अवलोकन गरेको तथा १ अर्वको कारोबार भएको जानकारी गराए ।
उनले ऐतिहासिक रूपमा एक्स्पो सम्पन्न भएको बताउँदै एक्स्पोको सफलताले आफूहरू हौसिएको बताए । दुलालले आगामी दिन प्रदर्शनी स्थल निर्माण गरेर व्यापार मेलालाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे । विराटनगर(२ स्थित शंकरपुरमा आयोजना गरिएको एक्स्पोमा ४ सय ६५ वटा स्टल राखिएका थिए । जसमध्ये बङ्गलादेश, भारत, श्रीलङ्का, पाकिस्तान र भुटानका ४५ वटा स्टलहरू थिए ।
एक्स्पोमा राखिएका सबै स्टलहरूमा सोचेभन्दा राम्रो व्यापार भएको उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए। उनले अपेक्षाभन्दा राम्रो व्यापार र उपलब्धि गर्दै यस पटकको एक्स्पो ऐतिहासिक रूपमा सम्पन्न भएको बताए । एक्स्पोका कारण उपभोक्ता उद्योगी र व्यापारी एकै ठाउँ जुट्ने अवसर प्राप्त भएको पूर्वाञ्चल ल्युब आयलका कन्ट्री म्यानेजर पशुपति साहले बताए ।
प्रतिक्रिया दिनुहोस