
काठमाडौं । केहि महिनादेखि अस्वाभाविक रूपमा बढेको तरकारीको भाउ घट्न थालेको छ । मंसिर पहिलो सातादेखि फागुन तेश्रो सातासम्म कतिपय तरकारीको मूल्य चार गुणासम्मले बढेकोमा अहिले आएर अधिकांश तरकारीको मूल्य ‘करेक्सन’ भएको हो ।
गत सातायता गोलभेंडा, आलु, बोडी, भण्टा, परवर, काउलीलगायतका तरकारीको मूल्य घटेको छ । अन्य तरकारीको मूल्यमा पनि झिनो अन्तर देखिन्छ । तिन महिनाको तुलनामा अधिकांश तरकारीको मूल्य घटेको छ । तरकारी आपूर्ति कम हुने समयमै भारती तरकारी आयात कम हुँदा मूल्य अकासिएको थियो ।
मंसिर पहिलो साता ठूलो गोलभेडाको थोक मूल्य प्रतिकिलो ६५ देखि ७० रुपैयाँ र सानो गोलभेँडाको थोक मूल्य ३५ देखि ५० रुपैयाँ पुगेको थियो । सोमबार कालीमाटी बजारमा ठूलो गोलभेडा ४५ देखि ५० र सानो गोलभेडा १५ देखि २० रुपैयाँ प्रतिकिलो थोक कारोबार भएको छ । गत वर्ष यही सिजनमा भने सानो गोलभेडा ३५ देखि ४० रुपैयाँमा कारोबार भएको कालीमाटी बजारको तथ्यांक छ ।
तरकारी छिट्टै नष्ट हुने प्रकृतिको कृषि उपज भएकाले बजारको मागअनुसार मूल्य तलमाथि हुनु स्वाभाविक भएको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरे बताउँछन् । ‘तर केहि महिना अघि अस्वाभाविक बढेको थियो, तीन महिना अगाडिको तुलनामा विस्तारै मूल्य करेक्सन भएको छ,’ उनले भने ।
तरकारीको मूल्यमा उत्तार चढाव भईरहन्छ । तर, यतिबेला सिजनका तरकारीको मूल्य गतवर्षभन्दा पनि कम छ, मूल्य अझै केही घट्दै जाने सम्भावना छ । खाद्यान्न र तेलको मूल्य जस्तो तरकारीको मूल्य बढेको बढ्यै नभइ वषौंदेखि उही अनुपातमा रहेको उनले बताए ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार एक वर्षअघि यही सिजनको तरकारीको मूल्यको तुलनामा समेत ६२ प्रतिशतसम्म घटेको छ । गत वर्ष यही सिजनमा सानो गोलभेंडाको थोक मूल्य ४८ रुपैयाँ रहेकोमा सोमबार ६२.५ प्रतिशतले कम भई प्रतिकिलो औषत १८ रुपैयाँमा थोक कारोबार भएको छ । रातो आलु, सेतो आलु प्याज, गाँजर, बन्दा, काउली, भण्टा, मटरकोसा, तीते करेला, चिचिण्डो, घिरौंला, फर्सीलगायतका तरकारीको मूल्यसमेत गतवर्षको भन्दा कम्तिमा ३ देखि ४३ प्रतिशतसम्मले कम भएको छ ।
घ्यू सिमी, मूला, बोडी, हरियो प्याज, तोरीको सागलगायत केही तरकारीको मूल्य भने गत वर्षको तुलनामा केही बढी छ । हाल कालीमाटी बजारमा दैनिक ६ सयदेखि ६ सय ५० मेट्रिक टन तरकारी भित्रिरहेको तथ्यांक छ । काठमाडौंमा करिव एक हजारदेखि १ हजार २ सय मेटन तरकारी आपूर्ति हुने देखिन्छ । कालीमाटी बजारमा औषतमा ७ सयदेखि ८ सय मेटन दैनिक तरकारी भित्रने गर्छ । अस्वाभाविक रूपमा मूल्य बढेको तरकारी कम खरिद गर्ने र सिजनको तरकारी खाने बानी गर्नाले स्वास्थ्य र खर्च दुबैमा सकारात्मक प्रभाव पर्दा आम उपभोक्तालाई राहत मिलेको छ ।
प्रतिक्रिया दिनुहोस