काठमाडाैं । आज देशका केही स्थानमा हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।
पश्चिमी वायु र न्यूनचापीय क्षेत्रको असरका कारण देशका पुर्व, मध्य र पश्चिमका केही स्थानमा दिउँसोपख हावाहुरी र चट्याङसहित हल्का पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा पनि दिउँसोपख पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । केही दिनयता देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुँदै आएको छ ।
आज पनि देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यमखालको हिमपात हुने मौसमवीद् पोखरेलले बताइन् ।
काठमाडौं उपत्यकाको आजको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ ।
मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने
पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । “अहिलेकोे प्रकृति हेर्दा अझै दुई–तीन दिन मौसम सुधार हुने अवस्था छैन”, मौसमविद् प्रधानाङ्गले भने ।
उनका अनुसार प्रि–मनसुनको मौसमको पूर्वावस्था भएकाले पनि यस्तो गतिविधि तथा मौसम फेरबदल भइरहेको हो । नेपालमा प्रि–मनसुन भित्रिने सरदर समय मार्च १ हो ।
यसलाई हेर्दा अब प्रि–मनसुन प्रवेश गर्न सात–आठ दिन बाँकी छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म रहने गर्छ । त्यस अवधिमा पहाडी भेगमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख हावाहुरी, मेघ गर्जन चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ ।
हाल न्यून चापीय प्रणालीको प्रभावले पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ भने बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
राति देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भेगका केही स्थान र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ । बिहीबार देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव दुई र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री रहेको छ । त्यस्तै आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनसमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस