aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेपाल ट्रष्टको सम्पत्तिबारे यसो भन्छ सरकार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ फागुन २०७६
नेपाल ट्रष्टको सम्पत्तिबारे यसो भन्छ सरकार

काठमाडौं । सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत सार्वजनिक गरेको छ । ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेका हुन् ।

नेपाल ट्रष्टको नाममा देशभर करिब २२ हजार रोपनी जग्गा रहेको छ । सोमध्ये १५ हजार रोपनी त जंगलमात्रै छ । त्यस्तै काठमाडौंका केही महँगा ठाउँको जग्गा बिभिन्न कम्पनीले लिजमा प्रयोग गरेको पाइएको छ ।

तत्कालिन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको श्वेतपत्रमा उल्लेख छ । सो मध्ये सबैभन्दा बढी ४ हजार ४४२ रोपनी जग्गा काठमाडौं जिल्लामा मात्रै भेटिएको छ ।

दरबारमार्ग, लाजिम्पाट, कमलादी, कालिमाटी, ताहाचल, छाउनी जस्ता महँगा ठाउँका जग्गा व्यापारिक प्रयोजनमा लिज र भाडामा दिइएका छन् । नेपाल ट्रष्टको घरजग्गा प्रयोग गर्नेमा थामसेर्कु ट्रेकिङ, टाउन डेभलपर्स, कन्सेप्ट डेभलपर्स, स्टाण्डर्ड चार्डर्ड बैंक लगायतका निजी कम्पनीहरु छन् ।

काठमाडौंका काँठ क्षेत्रमा रहेका घरजग्गा भने मोहीले बसोबास र खेती प्रयोजनका लागि प्रयोग गरिरहेको पाइएको छ भने ताहाचलमा बिभिन्न सरकारी कार्यालयहरुले न्युनतम भाडा तिरेर बसेका छन् । यी अधिकांश सम्पत्ति २०५० सालमा र केही २०५३ सालमा लिजमा दिइएका हुन् ।

२०६४ सालमा नेपाल ट्रष्ट बनेपछि ती सम्पत्ति राजा वीरेन्द्र र उनका परिवारका नामबाट ट्रष्टमा ल्याइएको थियो । त्यसपछि धेरैजसो काठमाडौंका महँगा ठाउँका जग्गाको पुनः लिज सम्झौता २०६६ पुस र माघमा मन्त्रिपरिषदबाट गराइएको पाइएको छ ।

ट्रष्टमा तत्कालिन राजपरिवारको नामबाट आएको रकम अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र ब्रिटिस पाउन्ड स्टर्लिङ ५० हजार १२४ खातामा रहेको पाइएको छ । ट्रष्टले विभिन्न बैंक तथा बित्तिय संस्थाको शेयर समेत खरिद गरेको छ ।

काठमाडौं सहित भक्तपुर, ललितपुर, नुवाकोट, मकनवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक , धनकुटा, सुर्खेत, कास्की, चितवन र धादिङमा तत्कालिन राजपरिवारको जग्गा जमिन पाइएको छ । रामेछाप दोलखा लगायतका जिल्लामा जमिन खोज्ने क्रम चलिरहेको छ ।

ट्रष्टको जग्गा व्यक्तिलाई दिने बाबुराम र गच्छदार
सरकारले करिब ७ वर्षअघि तत्कालिन डाक्टर बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदबाट मोहीका नाममा कायम गरिएको १७२ रोपनी १५ आना जग्गा नेपाल ट्रष्टकै नाममा फिर्ता ल्याउने प्रक्रिया थालेको छ ।

बाबुराम भट्टराई नेपाल ट्रष्टको संरक्षक र विजयकुमार गच्छदार अध्यक्ष रहेका बेला २०६९ साल कात्तिक २ गते मन्त्रिपरिषद बैठकबाट करिब १७३ रोपनी जग्गा मोही तथा उनीहरुको हकवालाका नाममा नामसारी गरिएको नेपाल ट्रष्टका अध्यक्ष ईश्वर पोखरेलले मंगलबार जारी गरेको श्वेतपत्रमा उल्लेख छ ।

बाबुराम सरकारले मोही खडा गरेर दिएको नेपाल ट्रष्टको जग्गा कानून बमोजिम ट्रष्टकै नाममा एकलौटी हुने दाबी गरिएको छ । ट्रष्टले यसबारेमा अध्ययन गर्न गठित समितिले २०७६ जेठ ७ गते पेश गरेको प्रतिवेदनमा भूमी सम्बन्धी ऐन, बमोजिम ‘नेपाल सरकारको स्वामित्वमा भएको जग्गा कमाउने व्यक्तिलाई मोहीको हक प्राप्त नहुने उल्लेख छ ।

सोही ऐन बमोजिम थानकोट,सतुंगल र मातातीर्थमा रहेको स्वर्गीय राजा वीरेन्द्रको परिवारका नाममा रहेका जग्गाहरु नेपाल ट्रष्टको कार्यालयको एकलौटी नाममा कायम हुनुपर्ने राय समितिले दिएको थियो ।

बाबुराम भट्टराई सरकारले नेपाल ट्रष्टको नाममा कायम भइसकेका जग्गाहरु व्यवस्थापन गर्ने सम्बन्धमा नेपाल ट्रष्ट ऐन, २०६४ को दफा १३ र दफा २४ ले व्यवस्था गरे बमोजिमको प्रकृया पूरा गर्नुपर्नेमा सो प्रकृया पूरा गरेको नदेखिएको समेत समितिले राय दिएको छ ।

त्यसैले मोही कायम भएका काठमाण्डौं जिल्ला साविक मातातिर्थ, थानकोट, हादेवस्थानलगायत गाविस स्थित नेपाल ट्रष्टको जग्गा पूर्ववत अवस्थामा नेपाल ट्रष्टको नाममा कायम हुन आवश्यक देखिएको सरकारको ठहर छ ।
 

प्रतिक्रिया दिनुहोस