aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

२६ लाख ७१ हजार अवैध नगदसहित ४ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ फागुन २०७६
२६ लाख ७१ हजार अवैध नगदसहित ४ जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको २६ लाख ७१ हजार रुपैयाँसहित पर्सा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको पिप्रा पोखरिया १ घर भई हाल वीरगञ्ज महानगरपालिका १६ नगवा बस्ने ४१ वर्षीय संजयकुमार साह, सोही ठाउँ बस्ने ३० वर्षीय जयलाल महतो, भारतको रक्सौल डुमरिया टोलका ३५ वर्षीय विजयकुमार ठाकुर र वीरगञ्ज महानगरपालिका १६ नगवाका ३१ वर्षीय राजुकुमार कलवार रहेका छन् । प्रहरीले चारै जनालाई अवैध वित्तिय ९हुण्डी० कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

सञ्जय र जयलाल वीरगञ्जको आदर्शनगरबाट पक्राउ परेका हुन् । बा ४८प ६५९७ नम्बरको मोटरसाइकलमा सवार सञ्जयको साथबाट ९ लाख ७१ हजार र जयलालको साथबाट १० लाख स्रोत नखुलेको रकम बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

यस्तै वीरगञ्ज महानगरपालिका १६ भन्सार गेट अगाडिबाट विजय र राजु पक्राउ परेका हुन् । बीआर ०५ एए ७२५५ नम्बरको भारतीय मोटरसाइकलमार्फत रक्सौलबाट वीरगञ्ज तर्फ आउने क्रममा विजय र राजु पक्राउ परेका हुन् । दुवै जनाको साथबाट प्रहरीले स्रोत नखुलेको ७ लाख रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका चारै जनालाई अवैध वित्तिय कारोबार (हुण्डी) शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

त्यस्तै थुनामा रहेका व्यक्तिलाई थुनामुक्त गरिदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी महम्द सम्साद अली रहेका छन्।

पक्राउ परेका सम्सादले सार्वजनिक शान्तिविरुद्धको अभियोगमा वडा प्रहरी कार्यालय बिर्ताको हिरासतमा रहेका वीरगञ्ज १६ नगवा टाले बस्ने २० वर्षिय सदाम हुसेनलाई थुनामुक्त गरिदिने भन्दै ४० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सम्सादविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया दिनुहोस